सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो सेवालाई बिस्तार गरेको छ । प्रतिष्ठानले क्यान्सरका सिकिस्त बिरामीहरूलाई लक्षित गर्दै ‘होम बेस्ड हस्पाइस केयर’ सेवा सुरु गरेको छ ।
यो सेवा अन्तर्गत अस्पताल आउन कठिन भएका बिरामीलाई आवश्यक उपचार र हेरचाह स्वास्थ्यकर्मीको टोलीले घरमै गएर दिने शुक्रवार विज्ञप्ति मार्फत जनाएको छ ।
क्यान्सरका कारण थलिएका, पीडित अवस्थामा रहेका बिरामी तथा आफन्तलाई सहजता पुर्याउने उद्देश्यले यो सेवा प्रारम्भ गरिएको प्रतिष्ठानका सहप्रबक्ता डा. अभिजित कुमारले जानकारी दिए ।
प्रतिष्ठानले सुरु गरेको यो सेवा काठमाडौँ उपत्यका बाहिरकै पहिलो होम बेस्ड हस्पाइस केयर सेवा भएको जनाएको छ ।
इच्छुक बिरामी वा आफन्तजनले प्रतिष्ठानको आन्तरिक चिकित्सा विभाग (अन्कोलोजी युनिट) सँग समन्वय गरी सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ । सुरुवाती चरणमा धरान उपमहानगरपालिकाभित्र सीमित रहेको यो सेवाको शुल्क १५ सय रुपैयाँ तोकिएको छ ।