इटहरी । निर्वाचन शिक्षा, नेतृत्व चयन र चुनाबी प्रक्रियाबारे प्रयोगात्मक ज्ञान दिन इटहरीको श्री राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीहरु बीचमै निर्वाचन गराएको छ ।
विद्यार्थीहरुलाई नेपालको विद्यमान निर्वाचन प्रणालीबारे व्यवहारिक रुपमै शिक्षा दिन निर्वाचनको अभ्यास गराइएको हो ।
शुक्रबार विद्यालयका कक्षा ६ देखी १० कक्षा सम्मका विद्यार्थीहरु बीच चुनाबी प्रकृयाको अभ्यास गराइएको हो ।
चुनावी प्रतिस्पर्धा अघि उम्मेदवारी घोषणा, मनोनयन दर्ता, दावीविरोध, उम्मेदवारी फिर्ता, चुनाव प्रचारप्रसार, मौनअवधि र मतदान जस्ता आधारभूत क्रियाकलाप सवै पूरा गरिएको विद्यालयका प्रधानाध्यापक सरण कुमार बस्नेतले जानकारी दिए ।
निर्वाचन अभ्यासका क्रममा कप्तान र भाइस कप्तान तथा हाउस कप्तान चयन गर्न मतदान गर्न लगाइएको थियो ।
शुक्रबार गरिएको मतदानमा ६४२ जनाले मत खसाले । विद्यार्थीहरुले चारवटा मतदान केन्द्रमा मत खसालेका थिए ।
निर्वाचनमा १२ पदका लागि ३९ जना विद्यार्थी बिच प्रतिस्पर्धा भएको थियो ।
मतदानमा स्कुल कप्तानमा छात्रतर्फ कक्षा १० का जेनिश भण्डारी २५३ मत ल्याएर विजयी भए ।
यस्तै, स्कुल कप्तानमै छात्रातर्फ कक्षा ९ की निशा दाहालले ३६९ मत ल्याएर विजयी भइन् ।
भाइस कप्तानमा छात्रतर्फ कक्षा १० का रितेश राईले ३२९ मत ल्याएर विजयी भए । यस्तै, भाइस कप्तान छात्रातर्फ कक्षा ९ की सुजाता गौतमले ३३२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत शिक्षक युवराज काफ्लेले जानकारी दिए ।
यस्तै, हाउस कप्तान अन्तर्गत ग्रिन हाउसको कप्तानमा कक्षा ८ की सुमिना राई र भाइस कप्तानमा कक्षा ९ का रुमन पाण्डे विजयी भए । रेड हाउसतर्फ कप्तानमा आठ ९ का विकिस कार्की र भाइस कप्तानमा कक्षा ९ कै नविना राई विजयी भइन् ।
यस्तै, बुलु हाउसमा कप्तानमा कक्षा ९ का जिसन उप्रेती र भाइस कप्तानमा कक्षा ८ बाट विजया कार्की विजयी भएको निर्वाचन समितिले जनाएको छ । चुनाबी प्रतिस्पर्धामा यल्लो हाउसतर्फ कप्तानमा कक्षा ९ का रोशन विक र भाइस कप्तानमा कक्षा ९ कै कृतिका कार्की विजयी भइन् ।
नेपालमा हुने निर्वाचन प्रक्रिया बारे जानकारी दिन विद्यार्थीबिच चुनाबको अभ्यास गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले बताए । प्रयोगात्मक शैलीमा विद्यार्थीलाई विषयवस्तु बुझाउन यस्तो अभ्यास गर्ने गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।