विराटनगर । विराटनगर महानगरपालिकाले एक सय २ वटा माछा तथा मासु पसललाई पत्र काटेको छ । अनुगमनका क्रममा विराटनगर महानगरपालिकाले बनाएको माछा तथा मासु सम्बन्धी निर्देशिकामा भएको मापदण्ड नपाएपछि मापदण्ड पुरा गर्न पत्र काटेको हो । महानगरले पुन अनुगमन गर्दा पनि मापदण्ड पुरा नभए कारबाही गर्ने जनाएको छ ।
विराटनगर महानगरपालिका पशुपक्षी विकास महाशाखाका अनुसार विराटनगरमा सञ्चालनमा रहेको माछा तथा मासु पसलको विषयमा महानगरले मापदण्ड बनाएको छ । मापदण्ड अनुसार माछा तथा मासु खुल्ला स्थानमा बेच्न पाइँदैन ।
महाशाखा प्रमुख हिरालाल साहाले अनिवार्य रूपमा माछा तथा मासु पसलमा जाली लगाउनु पर्छ । यस्तै मापदण्ड अनुसार हरेक माछा तथा मासु पसलमा फ्रिज राख्नु पर्छ ।
सफा गर्नका लागि पानीको व्यवस्था र प्रशस्त हावा छिर्ने कोठामा माछा तथा मासु बेच्नु पर्छ । यसरी मापदण्ड अनुसार नबनाएका माछा तथा मासु पसललाई पहिलो चरणमा सुध्रिनका लागि पत्र काटिएको साहाले बताए ।
नियमित अनुगमन
माछा तथा मासु पसलको गुणस्तरमा समस्या देखिएपछि विराटनगर महानगरले माछा तथा मासु पसल सम्बन्धी मापदण्ड बनायो । मापदण्ड बनाएपछि अहिले महानगरले एक वर्ष यता माछा तथा मासु पसलको अनुगमनलाई तीव्र बनाएको छ ।
अनुगमनका क्रममा मापदण्ड अनुसार माछा तथा मासु पसल सञ्चालनमा नभएको पाइए सुधारका लागि पत्र दिने गरिएको छ । सुधारका पत्र सहित समय दिँदा पनि सुधार नभए कारबाही गर्ने नीति महानगरको छ ।
पहिलो चरणमा अनुगमनमा जाँदा मापदण्ड पुरा नभएका पसलहरूलाई सुधारका लागि समय सीमा तोक्दे पत्र दिइएको छ । पत्र दिएर सुधारका लागि भन्दा पनि नसुध्रिए कारबाही गर्ने नीति लिएको महानगरपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा पसलका अवस्थासँगै ढक तराजुको समेत अनुगमन हुने गरेको छ । यो सँगै महानगरमा दर्ता भए नभएका र नवीकरण भए नभएको समेत चेकजाँच गरिने पशुपक्षी विकास महाशाखा प्रमुख हिरालाल साहा बताउँछन् ।