सुनसरी । नयाँ घर निर्माण तथा पुराना घरहरूको मर्मत सम्भारको लागि आवश्यक सीप, प्रविधि लगायतको बारेमा सचेतना जगाउने उदेश्व सहित पूर्वी नेपालमा पहिलो पटक घर निर्माण महोत्सव हुने भएको छ ।
इटहरी स्थित रोयल रिसोर्टमा शनिवार हुने महोत्सवमा घर बनाउनुअघि र पछि अपनाउनुपर्ने विभिन्न प्राविधिक तथा सैद्धान्तिक पक्षका बारेमा जानकारी गराइने शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
घर निर्माण सम्बन्धी परामर्श दिँदै आएको स्किल सेवाको आयोजनामा हुने महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, बास्तुकलाबिद, उद्यमी र विद्यार्थी गरी २ हजार ५ सय जनाको सहभागिता रहने जानकारी दिएको छ ।
महोत्सवले घरको आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँ, बिजुली, हावापानीको उचित प्रयोग र गुणस्तरीय बिचारहरूलाई प्रस्तुत गर्नुका साथै त्यस्ता बिचारहरूबाट लगानी जुटाउने अवसर समेत प्रदान गर्ने स्किल सेवाका पूर्वी नेपाल शाखा प्रमुख सुगन्ध मिश्रले बताए । पूर्वका प्रमुख सहरहरू धरान, विराटनगर, इटहरी, दमक लगायतका ठाउँहरूमा घर निर्माणकर्ताको कमी र घर धनीहरूलाई प्राविधिक ज्ञान नहुँदा विभिन्न समस्या देखा पर्ने हुँदा त्यसैलाई लक्षित गरी महोत्सव आयोजन गर्न लागिएको कार्यक्रम संयोजक विजय कार्कीले जानकारी दिए ।