सुनसरी– इनरुवा नगरपालिकाले पहिलो सभापति कप अन्तर नगर स्तरीय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा बुधवार सम्पन्न उद्घाटन खेलमा मोरङको सुन्दरहरैचा नगरपालिकालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै इनरुवाले विजयी सुरुवात गरेको हो ।
खेलको म्यानअफद म्याच इनरुवाका सेसेहाङ लिम्बु घोषित भए । उनलाई बिश्वआदर्श कलेज इटहरीका प्राचार्य गणेशप्रसाद दुलालले नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरे । बिहीबारको दोस्रो क्वाटर फाइनल खेल बेलबारी नगरपालिका र धरान उपमहानगरपालिकाबिच खेल हुने आयोजक इटहरी फुटबल क्लबका अध्यक्ष अनुरोध थापाले जानकारी दिए ।
वैशाख ३० गतेसम्म चल्ने प्रतियोगितामा कोसी प्रदेशका विभिन्न जिल्लाका ८ पालिकाको सहभागिता छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कोसी प्रदेशले संयोजन गरेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।
यस्तै विधागत उत्कृष्ट हुनेले नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।