सुनसरी–पूर्वी नेपालका जिल्लाहरूबाट गाँजा तस्करीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग हुने गरेको पाइएको छ । शनिवार राती सुनसरीमा प्रहरीले १ सय ८० केजी गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएपछि गाँजा तस्करीमा तस्करले नयाँ नयाँ शैली अपनाउन थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले रामधुनी नगरपालिका ६ स्थित पिडारी क्षेत्रबाट १ सय ८० केजी लागू औषध गाँजा सहित एक भारतीय नम्बरको एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
       शनिवार राति करिब १० बजे लागू औषध गाँजा बोकेर जाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो क्षेत्रको सम्पूर्ण सडक ब्लक गर्दै चेकजाँच गरेको थियो । जाँचका क्रममा भारतको बिआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्सलाई रोकी खानतलासी गर्दा कालो प्लास्टिक भित्र सेतो बोरामा प्याक गरिएको ३०–३० केजीका ६ बोरा गरी जम्मा १ सय ८० केजी गाँजा  फेला परेको हो । उक्त एम्बुलेन्स चालक सुनसरी वराहक्षेत्र नगरपालिका ४ का २५ वर्षीय श्रीराज कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालक सहित बरामद लागू औषध र एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए । यसअघि कारोबारीले नेपाली नम्बर प्लेटको एम्बुलेन्स तथा नक्कली सरकारी नम्बर प्लेटको गाडी, तेल बोक्ने ट्यांकर समेत प्रयोग गरी गाँजा तस्करी गर्ने गरेका थिए ।