विराटनगर । नेकपा एकीकृत समाजवादी मोरङको अधिवेशनमा सहभागी प्रतिनिधि घर फर्कीएपनि नेतृत्व भने अझै चयन हुन सकेको छैन । सहमतिका नाममा प्रतिनीधिहरुलाई घर पठाएर अध्यक्ष मण्डलमा रहेका नेताहरूले नेतृत्व चयनमा ढिलाइ गरेका छन् । अधिवेशनमा सहभागीहरूले निर्वाचनका माध्यमबाट नयाँ नेतृत्व चयन गर्नु पर्ने दबाब दिएपछि निर्वाचन समितिले बुधवार साँझ मनोनयनको फारम बाँडेको थियो । 
मनोनयनको फारम बाँडेसँगै मोरङको अध्यक्ष बन्न आकाङ्क्षा राख्दै  नौ जनाले उम्मेदवारी दिएका थिए । मनोनयन दर्ता गरेपछि बिहीबार बिहान अध्यक्ष मण्डलका अध्यक्ष सहित सदस्यहरू सर्वसम्मत नेतृत्व छान्ने भन्दै अधिवेशन स्थलबाट सबै कागजात लिएर पाटी कार्यालय गएका थिए । अध्यक्ष मण्डल नै अधिबेनश स्थल छाडेर हिँडेपछि प्रतिनिधिहरू घर फर्किएका छन् । प्रतिनिधि घर फर्कीएपनि नेतृत्व चयन भई नसकेको अध्यक्ष मण्डलका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका सचिव बलदेव चौधरीले बताए । उनले भने, ‘हामी आज सम्ममा सर्वसम्मत नेतृत्व छान्छौ । अहिले नै टुङ्गी सकेको छैन । ’
उनले अधिवेशनमा आएका प्रतिनिधि घर फर्की सकेको बताए । उनले भने, अध्यक्ष मण्डललाई नेतृत्व छान्ने अधिकार प्रतिनिधिले दिएकाले सर्वसम्मत नेतृत्व छान्ने प्रयास भइरहेको छ । नेकपा एकीकृत समाजवादी मोरङको अधिवेशन पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका थिए । 
एकीकृत समाजवादी मोरङको अध्यक्षका निम्ति आयोजक समितिका संयोजक चन्द्रवीर राई, उद्धव पोखरेल, दीपक ढकाल, कविराज घिमिरे, पुरुषोत्तम सुवेदी, हितबहादुर थापा, पदम सुब्बा र ध्रुव डाँगीले मनोनयन पत्र दर्ता गराएका छन् । 
दुई उपाध्यक्षका निम्ति चारले उम्मेदवारी दर्ता गराएका छन् । एक सचिवका निम्ति पनि चार जना नै उम्मेदवार छन् । उपसचिवका निम्ति पाँच जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
अधिवेशनले ९१ जनाको कार्यसमिति चयन गर्ने छ । समाजवादी मोरङको अधिवेशनमा ४३६ प्रतिनिधि सहभागी थिए । अध्यक्ष मण्डलका सदस्य वसिम आलमले आज बेलुका सम्ममा नेतृत्व चयन हुने बताए । उनले भने, हामी आकाङ्क्षी सबैलाई छलफल गराएर नेतृत्व छान्ने प्रयासमा छौ । आज बेलुका सम्ममा नयाँ नेतृत्व छान्छौ । ’