इटहरी । खोला पैनी अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सार्वजनिक सूचना जारी गरेको इटहरी उपमहानगरपालिका आफैले भत्काउन सुरु गरेको छ । 
गएको असारमा ३५ दिने सूचना जारी गर्दै अवैध भौतिक संरचना भत्काउन भनेको उपमहानगरले त्यस पछि पटक पटक १५ दिने र ७ दिने सूचना जारी गरेको थियो । समयमा संरचना नभत्काएपछि उपमहानगर आफैले भत्काउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । 
गएको मङ्गलवारबाट ताल तलैया क्षेत्रबाट टेङ्ग्रा खोलाको क्षेत्राधिकार भित्र रहेका अवैध संरचना भत्काउन सुरु गरेको हो । शनिवार सम्म करिब १ किलोमिटर बढी क्षेत्र सफा भइसकेको सफाई अभियानका संयोजक तथा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए । 

कसरी हुँदै छ खोला सफाई ? 

image (1) 2

टेग्राखोला सफाई अभियानमा ठुलो सङ्ख्यामा जनशक्ति परिचालन गरिएको छ । अमिन र इन्जिनियर सहितको २४ जनाको प्राविधिक टोली काममा खटिएका छन् । २ ग्रुपमा विभाजन भएको प्राविधिक टोलीले फिल्डमा आवश्यक समन्वयको काम गर्छ । 
कानुनी विषयमा कानुनी मामिला शाखाका कमल पोख्रेलले सहजिकरण गर्छन् भने प्रशासनिक शाखाको तर्फबाट सञ्जीव खड्काले आवश्यक समन्वयको काम गर्छन् । 
सफाई अभियानको संयोजकको रूपमा वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीलाई तोकिएको छ । 
३६ जनाको नगर प्रहरीले बिहान दिउँसो बेलुका गरी सुरक्षा दिने गरेको उपमहानगरले जनाएको छ । 
इटहरी उपमहानगरका ३ स्काभेटर र २ वटा जेसिबीले टेग्राखोलाको क्षेत्राधिकार भित्र रहेका संरचना भत्काउने र सफा गर्ने काम गर्छन् । 
खोलाको पानी बग्ने भागको ३५ फिट क्षेत्रमा रहेका रुख, बाँसका झ्याङ, अन्य झारपात भए त्यो पनि सफा गर्ने गरेको छ । 
ताल तलैयाको मुहानबाट सुरु भएको सफाइको काम शनिवार सम्म १ किलोमिटर बढी भाग सफा गरिसकेको उपमहानगरले जनाएको छ । 
अहिले वडा नम्बर ३ क्षेत्रमा सफाइको काम हुँदै छ । अब क्रमशः वडा न. २, ४ हुँदै मुख्य बजार क्षेत्रको टेङ्ग्रा पुल सम्म पुग्ने छ । यही गतिमा काम भए १५ देखी २० दिन भित्रमा टेङ्ग्रा पुल सम्म पुग्ने प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिए । 
सोही क्रमले इटहरीको दक्षिणी सीमा जोडिएको स्थान सम्म सफाई गरिने उपमहानगरको योजना रहेको छ । 

भत्काउनुपर्ने संरचना कति छन् ?


  
खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदलका र सो कार्यदल अन्तर्गतको उपसमितिमा रहेका प्राविधिक टोलीले टेँग्राखोलाको मुहान देखी दक्षिणी सीमा सम्म नाप जाँच सुरु गरेको थियो ।
सो नाप जाँच र अध्ययन अनुसार ७४ वटा संरचना खोला मिचेर बनाइएको छ । यसमा १० वटा नक्सा पास भएका घरहरू छन् । बाँकी भने नक्सा पास नभएका भौतिक संरचना छन् ।  जस मध्ये २२ वटा आर सी सी भवन छन् । 
यस्ता भवन मध्ये घर,सरकारी तथा सामुदायिक भवन,विद्यालय, चर्च समेत छन् । गाईबस्तुका गोठ,सुँगुर र बाख्राका खोर पनि छन् । कतिपय ठाउँमा खोला भित्रैबाट जग उठाएर भवन बनाइएको छ । 
यस्तो समस्या वडा न. ४, ६ र ९ मा बढी समस्या देखिएको छ । यी वडामा खोला मिचेर भौतिक संरचना धेरै बनाइएका छन् । यी संरचना भत्काउनुपर्ने उल्लेख छ । 
ताल तलैयाको मुहानबाट जति जति दक्षिण तर्फ जान्छ त्यति त्यति धेरै अतिक्रमण गरेको पाइन्छ । वडा नम्बर ३ मा गाईबस्तुका गोठ,सुँगुरका खोर बाख्राको खोर खोलाको क्षेत्राधिकार भित्र बनाइएका छन् भने तल बजार क्षेत्रमा भने घर भवनहरू नै निर्माण गरिएको  । जुन मापदण्ड अनुसार भत्काउनुपर्ने देखिएको छ । 
 
टेङ्ग्रा कोरिडोरको काम पनि सँगसँगै 

image (3) 1

उपमहानगरपालिकाले डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि टेङ्ग्रा कोरिडोरको योजना अघि सारेको छ । विश्व बैङ्कको सहयोगमा टेङ्ग्रा कोरिडोर निर्माण गर्ने उपमहानगरले योजना बनाएको छ ।
 ताल तलैयाको मुहान देखी दक्षिणी सीमा जोडिएको ठाउँ सम्म करिब ९ किलोमिटर क्षेत्रमा कोरिडोर निर्माण हुनेछ । कोरिडोर निर्माणको काम पनि सँगै सुरु गरिएको छ । कोरिडोर बनाउन साइड क्लियरेन्सको काम पनि सँगै हुँदै छ । एकै पटक दुवै कामसँगै भइरहेको उपमहानगरले जनाएको छ । 
पानी बग्ने खोलाको भागलाई ३५ फिट छुट्ट्याइएको छ । त्यहाँबाट दायाँ बायाँ २०÷२० फिट थप कोरिडोरका लागि सफा गर्ने काम पनि हुँदै छ । कोरिडोरका लागि वाल लगाउने जेसिबी र स्काभेटरले खन्दै पनि आएको छ । 
खोला सफाई र साइड क्लियरेन्सको काम सकिन साथ विश्व बैङ्कको प्राविधिक टोलीले कोरिडोर क्षेत्रको निरीक्षण गर्ने प्रशासन शाखाका प्रमुख सञ्जीव खड्काले जानकारी दिए ।
विश्व बैङ्कको प्राविधिक सहितको टोलीले अनुगमन गरी आवश्यक लागत स्टीमेट गर्ने उनले बताए । 
कोरिडोर कुन मोडलमा बन्ने भन्ने विषय त्यही प्राविधिक टोलीको अनुगमन पश्चात् निर्णय गरिने उनले जानकारी दिए । यसै आर्थिक वर्षमा यो काम सम्पन्न गर्ने लक्ष्य साथ काम अगाडि बढाइएको उनको भनाई छ ।