विराटनगर । विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ । विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिवार बिहान विराटनगर ११ केशलिया रोड दक्षिण तथा महेन्द्र चोक पश्चिममा रहेको ऐलानी जग्गा नाप जाप गरिएको छ ।

वर्षौँदेखि बेवारिसे अवस्थामा रहेको सो जग्गा महानगरको भएको निष्कर्षसहित नाप जाप गरी छुट्टाइएको वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिए । विराटनगरभित्र रहेका ऐलानी जग्गा नाप जाप गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर कोइरालाले बताए ।

महानगरको स्वामित्वको सो जग्गामा उचित संरचना निर्माण गरेर प्रयोगमा ल्याइने कोइरालाको भनाइ थियो । वडाध्यक्ष न्यौपानेका अनुसार नापजापपछि सो ठाउँमा चार कट्ठा जग्गा ऐलानी भएको पाइएको छ । नाप जाँचपछि चार किल्ला गाडिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।