विराटनगर ।  विराटनगर महानगरपालिकाले ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । 
मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्न चैत २ र ३ गते रोजगार मेला लगाउन लागेको हो ।  
स्थानीय रूपमा रोजगारीको खोजीमा रहेका जनशक्तिलाई स्थानीय उद्योग व्यवसाय, बैङ्किङ, पर्यटन, होटल, बैङ्क, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रमा रोजगार उपलब्ध गराउनका मेला लगाउन लागिएको महानगरका मेयर नागेश कोइरालाले बताए ।  
उनले रोजगार दाता र रोजगारीको खोजीमा रहेकाहरूलाई  सूचनाको पहुँच स्थापना, सहजीकरण र समन्वयात्मक भूमिका निर्वाह गर्न मेला उपलब्धिमूलक बताए ।
 महानगरले मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले बेरोजगार युवाहरूलाई रोजगारबारे सूचना दिलाउने उद्देश्य राखिएको मेलामा प्राविधिक, प्रशासनिक, उद्योग र श्रमिक क्षेत्रका व्यक्तिहरूको सहभागिता हुने जानकारी दिए । 
मेलामा रोजगारको वर्तमान अवस्थाको बारेमा पार्श्वचित्र र सफलताको कथा, रोजगार तथा उद्यमीसँगको संवाद कार्यक्रम, वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी, रोजगार खोजकर्ता र रोजगारदाताको तथ्याङ्क सङ्कलन गरी नमुना रोजगार सेवा केन्द्रमार्फत सहजीकरण हुने कोइरालाले बताए  ।