इटहरी । सुनसरीको इनरुवा स्थित सुनसरी खोलाको पुल छेउबाट पक्राउ बरामद भएको नक्कली नोटको साहु नजिक प्रहरी पुगेको छ ।  १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोटको साहु पहिचान भए पनि  प्रहरीले पक्राउ भने गर्न सकेको छैन । 

गत माघ २८ गते सुनसरी इनरुवास्थित सुनसरी खोलाको पुल छेउबाट ट्राफिक प्रहरीले एक हजार रुपैयाँ दरका १ करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै प्रहरीले  भारतीय नम्बर प्लेटको गाडी समेत  नियन्त्रणमा लिएको थियो । दुरुस्तै नेपाली सक्कली जस्तो देखिने नक्कली नोट कहाँ लैजान लागिएको हो भने अझै खुलेको छैन । 
प्रहरी श्रोताका अनुसार नेपालमा हुने मेला महोत्सवमा टार्गेट गरेर नक्कली नोट नेपाल पठाएको हुन सक्ने प्रहरीको अनुमान छ । 
घटनाका विषयमा प्रहरीले सात जनासँग सोधपुछ गरेको छ । नोट कहाँ छापियो, कहाँबाट कसले कुन ठाउँ लैजान लागेको हो भन्ने अनुसन्धान गरिरहेको प्रहरीले निष्कर्ष भने निकालेको छैन ।

सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार नक्कली नोटबारे त्यसमा जोडिएको हुनसक्ने आशङ्कामा सात जनासँग सोधपुछ भइसकेको छ । 
यतिका नक्कली नोट कसरी प्रचलनमा ल्याइन्छ भन्ने प्रहरीले अनुसन्धानका क्रममा केही सूचना प्राप्त गरेको छ । ‘गाउँका मेलाहरूमा थोरै थोरै गरेर नोट चलाइने बुझिएको छ’ उपरीक्षक रेग्मीले भने । अनुसन्धान नसकिएकाले यसलाई प्रभाव पर्न सक्ने तथ्यहरू सार्वजनिक गर्न नसकिने प्रहरीले जनाएको छ । 

भारतबाट नेपालमा बिक्री गर्ने उद्देश्यले ल्याइएको नोटसहित भारत वीरपुरका २२ वर्षीय मोहम्मद सैयदलाई प्रहरीले पक्राउ गरेको थियो। 
ट्राफिक प्रहरी हवल्दार विशाल प्रधान र जवान लालबाबु रायले चेकजाँचका क्रममा बिहानै नोटसहित गाडी र मानिसलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
नियन्त्रणमा लिइएको स्कोर पिओ जिप २६ गते नै सेतु बन्ध भन्सार कार्यालय सुनसरीबाट नेपाल प्रवेशको तीन दिने सुविधा लिएको थियो। 
 कुनौली नाकाबाट पैसा भित्रिएको आशङ्का
भान्टाबारी नाकाबाट स्करपीयो नेपाल छिरे पनि त्यसपछि भने सो गाडी सप्तरी गएको सिसी टिभी फुटेजबाट देखिन्छ । 
भाम्टावारि नाकामा रहेको सिसी क्यामराको रेकर्डमा स्करपियो गाडी नेपाल प्रवेश गर्दा चेकजाँच भएको देखिन्छ । सो नाकमा चेकजाँच भएर छाडिएकाले सप्तरीबाट नक्कली नेपाली नोट लोड भएको प्रहरीको अनुमान छ । 

श्रोतले भन्यो कुनौलीबाट नक्कली नोट २७ गते या २८ गते बिहान गाडीमा लोड भएको हुन सक्छ । 
सुनसरीबाट प्रवेश गरेको आशङ्का गरिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदेशका सुरक्षा प्रमुखहरूसँग सीमाको सुरक्षामा भएको कमजोरीबारे सोधपुछ गरिसकेको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार नोट बोकेको जिप त्यस दिन मधेस प्रदेशको राजमार्गमा सिसिटिभी क्यामेराको रेकर्डमा देखिएको थियो । उनले कोशी पश्चिमबाटै नोट लोड गरेको गाडी पूर्व आएको जानकारी दिए ।

ट्राफिक प्रहरीले चेकजाँच थालेपछि गाडीभित्र रहेको बोराका विषयमा सोधपुछ गर्दा बोरा भित्र ब्याग भेटिएको थियो । ‘ब्यागको चाबी अगाडिको गाडीमा छ’ भन्दै एक जना स्करपिओबाट निस्किएपछि बेपत्ता भएका थिए ।

ब्याग खोलेर हेर्दा नोट देखिएपछि हवल्दार प्रधानले आफैले गाडी चलाएर मानिस, गाडी र नोट जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए।  ठुलो मात्रामा नक्कली नेपाली रुपैयाँ पक्राउ परेपछि त्यसअघि र पछि पनि नोट आयात हुने र बजारमा छरिएको हुन सक्ने आशङ्कामा अनुसन्धान र खोजविन भइरहेको प्रहरीले जनाएको छ ।