सुनसरी - खाना संस्कृतिको विकास गर्दै, लोपोन्मुख खानाहरूको संरक्षणसँगै प्रवर्द्धन गर्ने उदेश्वको साथ इटहरीमा सम्पन्न परम्परागत खाना महोत्सव ८० हजारले अवलोकन गरेका छन् ।
जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा होटेल तथा लज व्यवसायी समिति इटहरी र इटहरी फुटबल क्लबको सह आयोजनामा फागुन १ देखी १७ गतेसम्म चलेको महोत्सवमा नेपाल भारतका गरी ८० हजारले अवलोकन गरेको आयोजकले जनाएको ।
परम्परागत खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै आयोजना गरिएको महोत्सव सुरुमा १० दिनको लागि चलेको थियो ।
IMG_2624
आगन्तुकको आकर्षण बढ्दै गएपछि एक हप्ता समयावधि थपिएको थियो । महोत्सवमा भारतको सिक्किम, पश्चिम बङ्गाल र बिहार लगायतका क्षेत्रबाट पनि मानिसहरू आएको कार्यक्रम संयोजक उमेश दाहालले जानकारी दिए ।
इटहरी उपमहानगरपालिकाको प्रमुख संरक्षकत्वमा सम्पन्न  महोत्सवमा इटहरीको प्रथम नागरिक थारु सहित यस क्षेत्र तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेवारी, धिमाल, राई, लिम्बु, तामाङ, गुरुङ लगायतका जातजातिको खानालाई प्राथमिकता राखिएको थियो ।
१८ दिनसम्म चलेको महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाई आन्तरिक तथा बाह्य पर्यटक भित्राएर पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने देखिएकाले आगामी वर्ष पनि निरन्तरता दिने जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए ।