सुनसरी - पहिलो पटक हुन लागेको जुत्ता-चप्पल व्यापार महोत्सवमा इटहरी उद्योग वाणिज्य संघले अवरोध गरेको छ । महोत्सवले स्थानीय व्यापारीलाई असर पर्ने भन्दै महोत्सव गर्न नदिने अडान इटहरी उद्योग वाणिज्य संघले राखेपछि शुक्रवार हुने भनिएको उद्घाटन कार्यक्रममा स्थगित गरेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । ‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फागुन ११ गते देखि चैत २५ गतेसम्म ३५ दिनका लागि महोत्सव चल्ने बताइएको थियो । 
IMG_3169
    उद्घाटन कार्यक्रमका लागि इटहरी उपमहानगरका प्रमुख हेमकणर् पौडेलले समय दिइसकेको अवस्थामा स्थानीय व्यापारीले विरोध गरेपछि उद्घाटन हुन नसकेको आयोजक समितिका अध्यक्ष एवंम नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नानीराज घिमिरेले बताए । शुक्रवार दिउँसो उद्योग वाणिज्य संघ इटहरीको भवनमा भएको छलफलमा महोत्सव कुनै पनि हालतमा गर्न नदिने अडान स्थानीय व्यापारीले राखेको घिमिरेले जानकारी दिए । यही अडानको आडमा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले महोत्सव स्थगित गर्न आग्रह गरेको घिमिरेको भनाई छ । यद्यपि के कसरी अघि बढ्ने भन्ने विषयमा पछि पुन छलफल गर्ने आश्वासन पराजुलीले दिएको घिमिरेले बताए । 
IMG_3178
       उद्योग वाणिज्य संघको छलफलपछि स्थानीय व्यवसायी इटहरी उपमहानगरपालिकाका नगरप्रमुख समक्ष पुगेका थिए । नगरप्रमुख पौडेललाई स्थानीय व्यापारीले गुनासो राखेपछि शुक्रवार हुने उद्घाटन कार्यक्रम स्थगित गर्न पौडेलले आग्रह गरेको घिमिरेले जानकारी दिए । उनले उद्घाटन कार्यक्रम मात्र स्थगित भएको तर महोत्सव स्थगित नभएको प्रस्ट पारे । उद्घाटन कार्यक्रम केही दिनपछि गर्ने तर महोत्सव जारी रहने बताए । 
jjjjj
      महोत्सव संयोजक एवंम फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले स्थानीय व्यापारी व्यवसायीलाई धेरै असर पर्ने भएकाले महोत्सव बन्द गर्नुपर्ने उनीहरूको अडान संकुचित मानसिकताको उपज भएको बताए । कानुनले दिएको अधिकार प्रयोग गरी स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने उद्देश्य मुख्य राखिएको महोत्सव रोक्न खोज्नु न्यायसंगत नहुने उपाध्यायले बताए । महोत्सव सञ्चालनको लागि आन्तरिक राजश्व कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारबाट अनुमति पाइसकेको अवस्थामा रोक्न खोजेर उद्योग वाणिज्य संघले कानुन हातमा लिन खोजेको उपाध्यायको आरोप छ ।
इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले स्थानीय व्यापारीलाई महोत्सवले मार पर्ने भएपछि तत्काललाई स्थगित गर्न आग्रह गरेको जानकारी दिए । यद्यपि अझै पनि छलफल जारी रहेकाले निकास निकाल्न आफू प्रयासरत रहेको पराजुलीको भनाई छ । jj
      बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने महोत्सवमा नयाँ नयाँ डिजाइनका आकर्षक जुत्ता-चप्पल सुपथ मूल्यमा उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सव भरी १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने छ । महोत्सवमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध रहेको आयोजकको भनाई छ । महोत्सव अवधिभरमा करिब ३ लाखले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।