सुनसरी - प्रहरीले सुनसरी वराहक्षेत्र नगरपालिका ९ राजाबासस्थित सप्तकोसी नदीको किनारबाट ४ सय ६ केजी लागुऔषध गाँजा लोड भएको बोलेरो गाडी सहित दुई जनालाई पक्राउ गरेको छ ।
 मङ्गलवार बिहान उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ । 
विशेष सूचनाको आधारमा प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको टाटा सुमो गाडीमा लोड गरी राखेको १३ बोरा गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको उक्त गाँजा ४०६ केजी ९४० ग्राम रहेको बताइएको छ । 
लागुऔषध गाँजा सहित बोलेरो चालक धरान उप-महानगरपालिका ४ का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी ८ का २७ वर्षीय लक्ष्मण राईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । 
पक्राउ परेकाहरूमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो । 
दुई दिनअघि पनि सुनसरी प्रहरीले धरानबाट १ सय ६३ किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको थियो भने सोमबार पनि १ सय ४९ किलो गाँजा सहित १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
                 
                     
                            
                                                             
        





 
        










