सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुनसरीका तीन जना पत्रकारलाई सम्मान गरेको छ ।
इटहरी स्थित कस्तुरी कलेजमा हिसान स्पोर्टस मिट २०८० को समापनको अवसर पारेर हिसान सुनसरीले पत्रकारिताको माध्यमबाट शैक्षिक जागरण तथा सचेतना विकास गर्न योगदान पुर्‍याएको भन्दै पत्रकार अर्जुन सुवेदी, भोजराज श्रेष्ठ र जयकृष्ण यादवलाई जनही नगद १० हजार पुरस्कार सहित सम्मान तथा पुरस्कृत गरेको हो ।
सुबेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन भने श्रेष्ठ ब्लष्टटाईम्स दैनिकका कार्यकारी सम्पादक हुन । यादव गोरखापत्र दैनिकका इनरुवा संवाददाताको रूपमा कार्यरत छन् । उनीहरूलाई हिसानका केन्द्रीय उपाध्यक्ष युवराज शर्मा, केन्द्रीय सदस्य बलराम पन्त, मुकुन्द घिमिरे, गङ्गाप्रसाद चौलागाई, सल्लाहकार लेखनाथ घिमिरे लगायतले दोसल्ला र सम्मान पत्र सहित नगद पुरस्कारले पुरस्कृत गरे ।
हिसान सुनसरीले प्रत्येक वर्ष बिशेषगरी शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आएको अध्यक्ष सागरप्रसाद भटराईले बताए । यसअघि यो पुरस्कारबाट पत्रकार भैरव आङला, सुबिद गुरागाईँ र हिमाल दाहाल सम्मानित भइसकेका छन् । 
लोक नृत्य प्रतियोगितामा धरान आदर्श प्रथम
यसैबिच हिसान सुनसरीको लोक नृत्य प्रतियोगितामा धरान आदर्श उच्च मावि प्रथम भएको छ ।
इटहरीस्थित कस्तुरी स्कुलमा सम्पन्न थारु लोक नृत्य प्रतियोगितामा धरान आदर्शले सहभागी १९ वटा विद्यालयलाई पछि पार्दै च्याम्पियन बनेको हो ।
यस्तै इटहरी नमुना स्कुल दोस्रो भएको छ । कस्तुरी कलेज तेस्रो हुँदा कोसी सेन्ट जेम्स इटहरी सान्त्वना स्थान हासिल गरेको छ ।