विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले ३० औ वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ।  बिहीबार विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठ गाउँमा आयोजित कार्यक्रममा उत्कृष्ट पदाधिकारी, शिक्षक, कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरूमा पदाधिकारी तर्फ सह परीक्षा नियन्त्रक मेनुका श्रेष्ठ, शिक्षक तर्फ सहप्राध्यापक डा. धर्मेन्द्रकुमार सिंह तथा कर्मचारी तर्फ वरिष्ठ अधिकृत टेकप्रसाद अधिकारी र सवारी चालक प्रकाश भुजेल रहेका छन् । पदाधिकारी श्रेष्ठ, शिक्षक सिंह र कर्मचारी अधिकारीलाई नगद ५१ हजार सहित उत्कृष्ट सेवा पदक प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ ।  सवारी चालक भुजेललाई खाइपाइ आएको सेवा सुविधामा दुई ग्रेड थप गरी पुरस्कृत गरिएको छ। tekendra
कार्यक्रममा पूर्व उपकुलपति द्धय महेश्वरमान श्रेष्ठ र प्रा.शिरीष रिजाल, सेवा आयोग अध्यक्ष बद्रीनाथ श्रेष्ठलाई पूर्व पदाधिकारीको रूपमा मरणोपरान्त सम्मान प्रदान गरिएको छ। कार्यक्रममा रिजालको परिवारले सम्मान थापेका थिए ।  त्यस्तै २० वर्ष सेवा अवधि पुरा गरेका ७ जना कर्मचारीहरूलाई  समेत दीर्घ सेवा पदक प्रदान गरिएको छ।  वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयीहरूलाई मेडल, ट्रफि र प्रमाणपत्र सहित पुरस्कृत गरिएको विश्वविद्यालयले जनाएको छ । 
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले आफ्नो कार्यकालमा सकेसम्म राम्रो गर्ने प्रयास गरेको चर्चा गर्दै टीकाटिप्पणीको जवाफ दिन आफू तयार रहेको बताए ।  ‘विश्वविद्यालयलाई लयमा फर्काउन उपकुलपतिको एक्लो प्रयासले मात्र सम्भव छैन, उनले भने, अहिलेसम्म भएका काममा तपाईँहरू सबैको उत्तिकै साथ र सहयोग छ।’ 

रजिस्ट्रार नीलमणि पोखरेलले विश्वविद्यालयलाई उचाइमा पुर्‍याउन सबैको साथ र सहयोगको खाँचो रहेको औँल्याए । ३० औ वार्षिकोत्सव अवसर पारेर नयाँ परिपाटीको थालनी गरिएको बताउँदै कार्यकारी परिषद्को निर्णयबाट निष्पक्ष मूल्याङ्कनका आधारमा उत्कृष्ट पदाधिकारी, शिक्षक तथा कर्मचारी छनौट गरिएको उनले जानकारी दिए । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।