विराटनगर । इटहरी उप महानगरपालिकाको नगर सभा स्थगित भएकोमा एमाले इटहरीले विरोध गरेको छ ।एमालेले इटहरीले नगर सभा मेयर हेमकर्ण पौडेलले हठत स्थगित गरेको भन्दै नगर सरकार असक्षम भएको जनाएको छ । आ.व. २०८०/०८१ को नगर सभाबाट पारित आर्थिक ऐन २०८० ले व्यवस्था गरेको कर तथा राजस्वका दर मा विवाद आएपछि उमेश सुबेदीको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।  साउन २६ गतेको १३३ औँ कार्यपालिका बैठकको निर्णय सुबेदीको संयोजकत्वमा  गठित   समायोजन र पुनरावलोकन गर्न प्रतिवेदन आजको नगर सभाबाट पास गर्ने सहमति भएको थियो । सहमति विपरीत नगर सभा स्थगित गरेकोमा एमालेले विज्ञप्ति निकाल्दै आप्पती जनाएको छ ।

पुस ४गते सम्पन्न १३६ औँ कार्यपालिका बैठकले प्रतिवेदन  हु-बहु पारित गर्ने गर्ने सहमति भएको एमाले इटहरीका कार्यवाहक अध्यक्ष रुपेश बस्नेतले बताए । उनले आर्थिक रूपमा अत्यन्तै जटिल अवस्थाबाट गुजिरहेका नागरिकहरूको अवस्थालाई न्यायोचित सम्बोधन र समाधान गर्न इटहरीको अभिभावकको रूपमा रहेका इटहरी सरकारका प्रमुख असक्षम रहेको आम नगरवासीले अनुभूत गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा कर समायोजन तथा पुनरावलोकन गर्नका लागि विगत ६ महिनादेखि गरिएको सबैको सामूहिक

प्रयासलाई सफल बनाउने आजको महत्त्वपूर्ण नगर सभा बैठक अन्तिम क्षणमा स्थगित हुनु नियोजित र दुभाग्यपूर्ण भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ," इटहरीको समृद्धि, विकास तथा सरकार सञ्चालनका क्रममा उत्पन्न समस्याहरू समाधानका निमित्त संवाद, सहमति र सहकार्य गर्ने नेकपा एमालेको प्रतिबद्धतालाई कमजोरीको रूपमा नलिन इटहरी नगर सरकारका प्रमुखलाईसचेत गराउन चाहान्छौं ।"