विराटनगर ।  विराटनगरमा आजदेखि  अन्तर्राष्ट्रिय स्तरको मोरङ व्यापार सङ्घ एक्स्पो सुरु हुँदैछ । 

एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।  त्यस अघि प्रधानमन्त्री दाहाल मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा पुगेर कार्यक्रममा सहभागी हुँदैछन्  ।  बिहीबार साँझ विराटनगर आई पुगेका दाहाल शुक्रवार बिहान ८ बजे विराटनगरबाट सुनसरी प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।  बिहान १० बजे सुनसरीको इनरुवामा विद्युतीय लाइनको उद्घाटन गर्ने र त्यसपछि प्रधानमन्त्री दाहाल मोरङको मिक्लाजुङ जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ मा पार्टीले आयोजना गरेको  आमसभालाई सम्बोधन गरी दिउँसो करिब ३ बजे मोरङ व्यापार सङ्घ एक्स्पोको उद्घाटनमा पुग्ने कार्यक्रम छ ।  प्रधानमन्त्री दाहाल एक्स्पोको उद्घाटन गरी आजै साँझ काठमाडौँ फर्किनेछन् ।