सुनसरी । इटहरी उपमहानगरपालिकामा चालु आर्थिक वर्षदेखि वृद्धि भएको राजस्व, शुल्क तथा दस्तुर घट्ने भएको छ ।
बुधवार साँझ सम्पन्न उपमहानगरपालिकाको १३६ औ कार्यपालिका बैठकले वृद्धि भएको कर समायोजन गर्ने निर्णय गरेको हो । उपमहानगरले ५ सय प्रतिशत सम्म कर वृद्धि गरेपछि त्यसको विरोधमा आन्दोलन भएपछि कार्यपालिका सदस्य तथा इटहरी वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो ।
समितिले समयमै प्रतिवेदन बुझाउन नसकेपछि सुवेदीले एकल हस्ताक्षर गरेर राजस्व परामर्श समितिलाई प्रतिवेदन बुझाएका थिए । सोही प्रतिवेदन अघिल्लो कार्यपालिका बैठकमा नगर उपप्रमुख सङ्गीता चौधरीले पेस गरेकी थिइन् ।
बुधवार साँझको कार्यपालिका बैठकमा नगरप्रमुख हेमकणर् पौडेलले सो प्रतिवेदनलाई स्वीकार गरेर कर समायोजन गर्ने निर्णय गरेको बताए ।
प्रतिवेदनमा उल्लेख भएका विषयलाई आगामी पुस २३ गते हुने नगर सभामा पेस गरेर कर समायोजन गर्ने निर्णय भएको पौडेलले जानकारी दिए ।