इटहरी । इटहरीको बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ । मंगलबार सम्पन्न संस्थाको २३ औँ साधारणसभाको अवसरमा संस्थाले जेष्ठ नागरिक, समाजमा विभिन्न योगदान पुर्याउने १० जना व्यक्तिहरुलाई सम्मान गरेको हो । 

 साधारणसभाका अवसरमा जेष्ठ नागरिकका तर्फबाट इटहरी वडा नं. ५ निवासी ७१ वर्षीया नन्दकुमारी आचार्य र ८१ वर्षीय कर्णबहादुर कार्कीलाई सम्मान गरेको छ ।  यस्तै, संस्थाले पूर्व सल्लाहकार शारदाप्रसाद मिश्र, टीकाप्रसाद दाहाल, पूर्व सञ्चालक राजेन्द्रप्रसाद पोखरेल र केशवप्रसाद सिटौलालाई सम्मान गरेको हो । 

कार्यक्रममा उत्कृष्ट ऋणी महिलातर्फ गीताकुमारी भूजेल, पुरुषतर्फ उपतनारायण थारु, उत्कृष्ट वचतकर्ता जसवती कुमारी धामी, अन्तराम माझी थारु र उत्कृष्ट कर्मचारी सह व्यवस्थापक प्रदिप चौधरीलाई सम्मान गरियो । कक्षा ११ र १२ मा उत्कृष्ट अध्ययन गर्ने शेयर सदस्यका छोराछोरीको रुपमा अनामिका शर्मा लुईटेल पुरस्कृत गरिएको छ । 

 सम्मानित सवैलाई कार्यक्रमका प्रमुख अतिथि उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश शाखा प्रमुख लिलाबल्भव चापागाईंले दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेका थिए ।

 एक हजार २९ जना सेयर सदस्य रहेको सहकारी संस्थाको सेयर पूँजी तीन करोड ७६ लाख ३४ हजार नौं सय रहेको  व्यवस्थापक नेत्रप्रसाद दुलालले बताए । 

संस्थाको २३ औँ साधारण सभा तथा कार्यक्रम संस्थाका अध्यक्ष पर्शुराम दुलालको अध्यक्षतामा भएको थियो ।