विराटनगर ।  प्रहरी जवान १४० औ समूहको आधारभूत तालिममा सहभागी २९५ जना प्रहरी जवानहरू दीक्षित भएका छन् । कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा सञ्चालित तालिमबाट उनीहरू दीक्षित भएका हुन्  । 
२०७९ साल कार्तिक २० गते देखि सञ्चालित २ सय ३४ कार्य दिनको प्रहरी जवान १४० औ समूहको आधारभूत तालिम पश्चात्  प्रशिक्षार्थीहरूलाई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङ्गणमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले तालिम पुरा गरेका जवानलाई दीक्षित गरे ।   प्रहरी जवान १४० औ समूहको आधारभूत तालिममा सहभागी ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरू दीक्षित भएका छन् ।  
दीक्षान्त समारोहमा तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक रबिन विष्टले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । उनले तालिमको दौरानमा प्रशिक्षार्थीहरूलाई नेपाल र नेपाल प्रहरी सङ्गठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन र प्रहरी युक्ति तथा कारबाही लगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी गराए  । 
डिआइजी बास्तोलाले प्रशिक्षार्थीहरूलाई तालिम अवधि भर लिइएको चरणगत परीक्षाको प्राप्ताङ्क आधारमा विभिन्न विधामा उत्कृष्ट हुने  प्रशिक्षार्थी प्रहरी जवानहरु लगायत तालिममा सहभागी प्रशिक्षकहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरेका थिए ।  बास्तोलाले अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेसामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गरेकोमा दीक्षित प्रहरीका परिवारजन तथा आफन्तहरूमा आभार प्रकट  गरेका थिए ।4 1
कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापूर्वक, ईमान्दार र बफादारी भई उच्च मनोबलका  साथ नागरिकको सेवामा दत्तचित्त भई लागि पर्न दीक्षित प्रहरी जवानहरूलाई शुभकामना सहितको निर्देशन दिएका थिए ।

दीक्षान्त समारोहमा तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले समाज गतिशील रहेको र हाम्रा प्रयास पनि गतिशील नै हुनुपर्ने बताए ।  ‘अब कार्यक्षेत्रमा खरो उत्रिने पालो दीक्षित प्रशिक्षार्थीहरूकै रहेकै हो, उनले भने, हामीले तालिम केन्द्रबाट दिने सबै  तालिमहरू दिइसकेका छौँ, समाज र सङ्गठनले अपेक्षा गरे अनुरूप निष्ठापूर्वक कार्य गर्नुहोस् ।’ समारोहमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, दीक्षित हुने प्रशिक्षार्थी प्रहरी जवानहरूका अभिभावक तथा आफन्तहरू, सञ्चार कर्मीहरू, पूर्व प्रहरी कर्मचारीहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।