विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको रवि आधारभूत विद्यालयमा  निक्कै चहलपहल थियो ।  केही मानिसहरूको हुल विद्यालयमा पस्यो र त्यहाँका शिक्षक, बाल क्लबका विद्यार्थीहरूसँग छलफल गर्न थाल्यो । एकाएक टोली विद्यालयमा आएको देखेपछि विद्यार्थीहरू पनि छक्क परे । विद्यालयमा यो भन्दा अगाडी पनि यस्ता समूहहरू बेला बेला नआएका होइनन् । यो समूह भनेँ सर्लाही जिल्लाबाट विद्यालयको अबलोक न भ्रमणकोलागि आएको थियो ।  २९ जनाको टोलीमा सर्लाही जिल्लाका बिभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू थिए । विद्यालयले गरेको राम्रो कामको अनुसरण गर्ने र यहाँको सिकाई आफ्नो जिल्लामा लगेर प्रयोग गर्ने हेतुले यो टोली आएको थियो । टोलीले चार घण्टा  विद्यालयमा नै बिताएका थिए । आदित्य पटेल नेतृत्वमा आएको टोलीले विद्यालयका बाल क्लब, विद्यालयका शिक्षक,  विद्यालय व्यवस्थापन समिति र त्यहाँका अभिभावकसँग  विद्यालय सुधार हुनुको कारण र त्यहाँ भईरहेको असल अभ्यासको बारेमा जानकारी लियो ।  
वर्ल्ड भिजन इन्टरनेसनल नेपालको शुरुवाती लगानीमा विद्यालय भवन, शौचालय तथा सिकाइ उपलब्धिमा विद्यालयसँग सहकार्य भएको र विद्यालय स्वयंले गरेको प्रगतिलाई मधेस प्रदेशमा अनुसरण गर्न योग्य भएकोले सर्लाही जिल्लाबाट सिकाइ भ्रमण गरेको वर्ल्ड भिजनका नीति तथा सञ्चार विज्ञ प्रमिल अधिकारीले बताए ।4
सरकारको प्राथमिकतामा नपरेको तथा नमुनामा नपरेका यस्ता आधारभूत विद्यालयहरू  आफ्नै बलमा अब्बल बन्दा  अन्य प्रदेशका विद्यालयहरूको सिकाई केन्द्रको रूपमा समेत विकास हुँदै गएका छन्  ।  टोली नेता पटेलले आधारभूत विद्यालयमा पनि धेरै गर्न सकिने महसुस आफूहरूले गरेको बताए । ‘इच्छाशक्ति हुने हो भनेँ धेरै गर्न सकिने रहेछ भन्ने महसुस भएको छ, उनले भने, हामीले हाम्रो समुदायको विद्यालय सुधार गर्न नसक्नुमा अभिभावक, विद्यालय परिवार तथा  समितिको कमीकमजोरी भएको महसुस भएको छ।’  

यसरी सिकाई आदान प्रदानको लागि हुने भ्रमणमा अधिकांश विद्यालयहरूको प्राथमिकता सरकारले ठुलो धनराशी खर्च गरेको माध्यामिक विद्यालयहरू पर्छन्  । तर पछिल्ला समय यस्ता आधारभूत विद्यालयहरूले आफ्नो पहिचानलाई प्रदेश भित्र मात्र हैन अरू प्रदेशमा पनि  पुर्‍याउन सफल भएको विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदारले बताए ।