मेचीनगर । अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकडभिट्टाले झापाको मेचीनगर—७ स्थित सतिघट्टा गोमनसरिमा रहेको  अरनिको माध्यामिक विद्यालयलाई १२ थान सिलिङ पङ्खा हस्तान्तरण गरेको छ ।  विद्यालयमा जडान भएका चार थान पङ्खा चोरी भएपछि   गर्मीका कारण पठनपाठनमा समस्या भएको थियो ।
अधिकांश चिया, कृषि तथा गृह निर्माणमा संलग्न मजदुरका छोराछोरी अध्ययनरत उक्त विद्यालयमा पङ्खा हस्तान्तरण गरेको क्लबका अध्यक्ष इन्जिनियर रुद्र मैनालीले जानकारी दिए ।  मेचीनगर नगरपालिका वडा नम्बर—७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले रोटरीले अत्यन्तै ग्रामीण ठाउँमा  मजदुरका छोराछोरी अध्ययनरत विद्यालयमा आएर गरेको कामको प्रशंसा गरे ।  यही वडाको मदनवस्तीमा अढाई दशक अघिदेखि  मेचीनगर नगरपालिकाद्वारा सञ्चालित  श्री कृष्ण प्राथमिक विद्यालयमा रोटरीले शुद्ध पिउने पानी परियोजना हस्तान्तरण गरेको समेत बताए ।
करिब ३० हजार रुपैयाँ मूल्य बराबरका सिलिङ पङ्खा प्रदान गर्ने निर्णय भएको क्लबका मिडिया कोडिनेटर लक्ष्मी उप्रेतीले जानकारी दिए । 

प्रमुख अतिथि वडाध्यक्ष ओली र क्लबका अध्यक्ष इन्जिनियर मैनालीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल अधिकारी, विद्यालयका प्रधानाध्यापक विशाल भट्टराई तथा शिक्षक अभिभावक सङ्घका अध्यक्ष यज्ञराज गुरुङलाई संयुक्त रुपमा पङ्खा हस्तान्तरण गरेका थिए ।