विराटनगर । दुई महिना यता चामलको मूल्य ह्वात्तै बढेको छ । भारतले बासमती बाहेकको चामल निकासीमा रोक लगाएका कारण चामलको मूल्य बढेको व्यापारीको तर्क छ । तर, भन्सार कार्यालयले भने भारतबाट निर्बाध रूपमा चामल र धान आयात भइरहेको जनाएको छ ।
दुई महिना अघिसम्म किलोको ६०/६५ रुपैयाँ पर्ने चामलको मूल्य बढेर अहिले ९०/९५ रुपैयाँ पुगेको छ । चामलको मूल्य ५० प्रतिशतसम्म बढ्दा उपभोक्ता मारमा परेका छन् । खुद्रा बिक्रेताले चामल उद्योगले मूल्य बढाएकाले त्यसको असर बजारमा परेको बताएका छन् ।
चामल उद्योग सञ्चालकहरू भने भारतले निकासीमा रोक लगाउन साथ मूल्य बढेको दाबी गर्छन् । स्वदेशी उत्पादनले ६० प्रतिशत मात्रै माग मात्र धान्ने र ४० प्रतिशत भारतबाट आउने उनीहरूको भनाइ छ । भारतले निकासीमा रोक लगाएका कारण चामलको मूल्य बढेको उद्योगीहरूको दाबी र सरकारी तथ्याङ्क भने मेल खान्न । 
विराटनगर भन्सार कार्यालयले निर्बाध रूपमा भारतबाट धान र चामल आयात भइरहेको जनाएको छ । असारमा भारतबाट पाँच हजार मेट्रिक टन चामल र आठ हजार तीन सय ८१ मेट्रिक टन धान आयात भएको छ । साउनमा त्योभन्दा बढी अर्थात् छ हजार ५२ मेट्रिक टन चामल र १८ हजार एक सय ४३ मेट्रिक टन धान आयात भएको छ ।
बजार अनुगमन र नियमनमा सरकार उदासीन हुँदा धान चामलमा उद्योगी, व्यापारीको मनोमानी देखिएको हो ।  आफू खुसी मूल्य बढाउँदाको मार भने उपभोक्ताले सहनु परेको छ ।