इटहरी । स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्न आयोजना गरिएको महिला उद्यमशीलता प्रदर्शनीको तयारी पुरा भएको छ । प्रदर्शनीको तयारी पुरा भएको भोली(शुक्रवार) दिउँसो महिला उद्यमशीलता प्रदर्शनीको उद्घाटन हुने कार्यक्रम संयोजक मिना ढकालले जानकारी दिइन । प्रदर्शनी १७ गते सम्म सञ्चालन हुनेछ ।
इटहरीको लायन्स क्लबमा आयोजना हुने प्रदर्शनीमा कोसी प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका दैनिक उपभोग्य तथा अन्य सामाग्रीहरू राखिने छ । प्रदर्शनीमा भाग लिन कोसी प्रदेशका विभिन्न जिल्लाका ७५ वटा स्टलहरूले आफ्नो व्यवस्थापन गरिसकेको महिला उद्यम समितिकी कोषाध्यक्ष विजया प्याकुरेलले जानकारी दिइन । 
प्रदर्शनीमा घरेलु लघु उद्योगबाट निर्मित दैनिक उपभोग्य विविध सामाग्रीहरू, कृषिजन्य जडीबुटी ,हस्तकला, सौन्दर्यकला सम्बन्धी सामाग्रीहरू, पर्यटन क्षेत्रको जानकारी डेस्क तथा कारागारबाट उत्पादित सामाग्रीहरू समेत रहेको कोषाध्यक्ष प्याकुरेलले बताइन् । 
प्रदर्शनीमा प्रत्येक दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । इटहरीका टोल विकास स्तरीय नृत्य प्रतियोगिता हुने संयोजक ढकालले जानकारी दिइन ।
प्रदर्शनीको आफ्नै गीत तयार गरिएको छ, उक्त गीतमा उत्कृष्ट टिकटक बनाउने ३ जनालाई पुरस्कृत समेत गरिने संयोजक ढकालले बताइन् । प्रदर्शनीमा ५० हजार मानिसहरूले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । 
प्रदर्शनीको उद्घाटन भोली (शुक्रवार) दिउँसो १ बजे गरिने आयोजक महिला उद्यम समितिकी संयोजक मिना आचार्य ढकालले जानकारी दिइन् ।