इटहरी । इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी आयोजना हुने भएको छ । कोसी प्रदेशका उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको प्रवर्द्धन तथा बजारीकरण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको महिला उद्यम समितिले जानकारी दिएको छ । 
 उद्योग वाणिज्य सघं इटहरी अन्तर्गतको महिला उद्यम समितिले शुत्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीबारे जानकारी दिइएको हो । 
उद्योग वाणिज्य सङ्घ इटहरीको महिला उद्यम समिति र नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा प्रदर्शन आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
‘हाम्रो ठाउँ,हाम्रै उत्पादन’ भन्ने मूल नाराको साथ भाद्र १५ देखि १७ गते सम्म प्रदर्शनी आयोजना गरिने महिला उद्यम समितिकी संयोजक मिना ढकालले जानकारी दिइन् । 
प्रदर्शनीमा घरेलु लघु उद्योगबाट निर्मित दैनिक उपभोग्य विविध सामाग्रीहरू , कृषिजन्य जडीबुटी , हस्तकला सौन्दर्यकला सम्बन्धी सामाग्रीहरू, पर्यटन क्षेत्रको जानकारी डेस्क तथा कारागारबाट उत्पादित सामाग्रीहरू  राखिने आयोजक संस्थाले जानकारी दिएको छ । 
इटहरीको लायन्स क्लबमा आयोजना गरिने प्रदर्शनीमा इटहरी तथा कोसी प्रदेशका १४ वटै जिल्लाका  उद्यमीहरूको एक सय वटा स्टल रहने छ । प्रदर्शनीमा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । कार्यक्रममा १४ लाख खर्च हुने अनुमान गरिएको छ । 
प्रदर्शनीमा युवा उद्यमी मञ्च सुनसरीले ३ विधामा उत्कृष्टहरूलाई सम्मान गर्ने जनाएको छ । मञ्चका अध्यक्ष चन्द्र देवकोटाका अनुसार प्रदर्शनका क्रममा इनोभेटिभ व्यवसाय, कम्युनिटी प्रभाव व्यवसाय र उत्कृष्ट व्यवसाय स्टललाई जनही १५ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ ।  
पुरस्कार छनौट समिति निर्माण गरिएको बताउँदै अध्यक्ष देवकोटाले छनौटमा परेका उत्कृष्टहरूलाई पुरस्कृत तथा सम्मान गरिने जानकारी दिए । 
पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुलीले व्यवसायीका हितका लागि निरन्तर रूपमा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने बताए ।
 आगामी मङ्सिर महिनामा उद्योग वाणिज्य सङ्घले अन्तर्राष्ट्रिय ट्रेड फेयर आयोजना गरिने अध्यक्ष पराजुलीले जानकारी दिए । 
ट्रेड फेयरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने गरी कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए ।