विराटनगर । लियो क्लब अफ विराटनगर युनिकका पूर्व अध्यक्ष पेरिस सुवेदीको जन्मदिनको अवसर पारेर लायन्स तथा लियो क्लब अफ विराटनगर युरिकले विद्यालयले सहयोग गरेको छ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ९ जातेमा रहेको बैजनाथ अधिकारी प्रारम्भिक संस्कृति विद्यापीठलाई ५ थान पङ्खा र ३० थान चकटी सहयोग गरेको हो । 
लायन्स क्लब अफ विराटनगर युरिकका अध्यक्ष रमेश कुमार राउतको अध्यक्षता तथा जोन अध्यक्ष चन्द्र प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको सहयोग कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरू,  विद्यालयका विद्यार्थी तथा शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका सदस्यहरू लगायतको सहभागिता रहेको थियो । 
क्लबका सचिव चेतन निरौलाले सञ्चालन गरेको कार्यक्रममा सुवेदी र अधिकारी लगायतले संयुक्त रूपमा विद्यालयलाई सहयोग हस्तान्तरण गरे ।  २३ वर्षीय सुवेदीले सानै उमेरदेखि सामाजिक कार्यमा निरन्तर लागिरहेका छन् । 
कार्यक्रममा लायन्स क्लब अफ विराटनगर युरिकका प्रवीण अग्रवालले विद्या पीठलाई एक दिनको खाना बापत ५ हजार १५१ रुपैयाँ र क्लबका एमजिएफ सञ्जय साहले एक दिनको खाना खर्च बापत १६०० रुपैयाँ सहयोग गरे । +
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एक राज भट्टराईले विद्यालयले अहिलेसम्म सहयोगमा नै सञ्चालन भइरहेको बताए ।  २०६८ सालमा स्थापना भएको संस्कृति विद्यापीठ २०७३ सालदेखि केही वर्ष विभिन्न समस्याको कारण बन्द भएको थियो । २०७६ सालदेखि विद्यालयको जिम्मेवारी लिएर काम गरिरहेका अधिकारीले  तेह्रथुम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ र सुनसरीका ३२ जना बटुक तथा विद्यार्थी रहेको जानकारी दिए । आवासीय सुविधासहितको पढाई भएका कारण अझै आवासमा समस्या रहेको उनले बताए । लेटाङ नगरपालिकाले वार्षिक २ लाख ४१ हजार एकमुष्ट वार्षिक अनुदान दिने गरेको छ ।  नगरपालिकाको सहयोगमा नै शौचालय पनि निर्माण भएको बताउँदै अधिकारीले विद्यालय सञ्चालन तथा भवन निर्माणको लागि केही समय अगाडि सप्ताह पनि लगाएको जानकारी दिए । संस्कृति विद्यालयमा वेद, पुराण, रुद्री, चण्डी पाठ, , ज्योतिष विज्ञान लगायत पढाई हुने र संस्कृतिको उत्थान, यसको महत्त्व, उत्पत्ति लगायतका विषयमा पनि पढाउने गरिएको विद्यालयले  जनाएको छ ।