नेपाल भारत मैत्री पर्यावरण संरक्षण अभियान अन्तरगत वृक्षारोपण गरिएको छ। स्माईल नेपाल फाउन्डेसनको आयोजना र जनकपुर वन प्राविधिक समाजको सहकार्यमा वीरगन्जमा वृक्षारोपण गरिएको हो  ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सङ्घीय सांसद बिना देवी जयसवालको प्रमुख आतिथ्यमा भएको वृक्षारोपण कार्यक्रममा स्थानीयको सहभागिता थियो । कार्यक्रममा विभिन्न जातका  १ हजार ५ सय बिरुवा रोपिएको कार्यक्रमका संयोजक श्याम रौनियारले जानकारी दिए । वीरगन्ज १४ स्थित सहिद तेजबहादुर अमात्यको सालिक देखि गण्डक चौक हुँदै नहरसम्म वृक्षारोपण गरिएको थियो । वातावरण हराभरा बनाउन र पर्यावरणको रक्षाको लागि वृक्षारोपण जरुरी रहेको जनकपुर वन प्राविधिक समाजका महासचिव सुरेश शर्माले बताए।  अहिले देखा परेको पानीको समस्या पनि वन जंगलको फडानी र चुरेको दोहनका कारणले भएको जानकारी दिँदै  खाली जग्गाहरूमा वृक्ष रोपन अभियानको रूपमा गर्नु पर्नेमा जोड दिए ।
जलवायु परिवर्तनको असर पानीको मुहान, खडेरी, उत्पादनमा कमी लगायतमा देखिँदै जान थालेको उनले बताए ।  खडेरीको समस्या समाधानका  लागि वृक्ष रोपन जरुरी भएकोले प्रत्येकले घरघरमा वृक्ष रोपन गरी  पर्यावरण जोगाउन लाग्नु पर्नेमा उनले सुझाव दिए । कार्यक्रम राईनो युवा क्लब र जनकपुर वन प्राविधिक समाजको सहकार्यमा सम्पन्न भएको थियो । वृक्ष रोपन पश्चात् पर्यावरण रक्षाको लागि यसको महत्वको बारेमा अन्तरक्रिया समेत भएको थियो ।