विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आफ्नो ६९ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। दिवसको अवसरमा उत्कृष्ट तीन प्राध्यापक र दुई कर्मचारीलाई सम्मान गरेको छ।  सम्मानित हुने प्राध्यापकहरूमा  यामनाथ पौडेल, डा शशितकुमार यादव र विजयहरि खतिवडा छन् । यस्तै कर्मचारी द्वय अनिल कर्ण र दामोदर कोइराला पनि सम्मानित भए । उनीहरूलाई  आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरी उत्कृष्ट कार्य गरेको भन्दै  सम्मानित गरेको क्याम्पस प्रमुख डा बाबुराम तिमल्सिनाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि लोकसेवा आयोगका पूर्व सदस्य एवम् पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्राडा कृष्ण पोखरेल, क्याम्पस प्रमुख डा बाबुराम तिमल्सिना, सहायक प्रमुख त्रय शिवनारायण चौधरी, डा सुशील अधिकारी र उमेश यादव,  प्राध्यापक सङ्घका एकाइ अध्यक्ष डा प्रमोद खेरवारले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्राडा पोखरेलले विश्वविद्यालयको पढाइमा गुणस्तर भए र   सरकारद्वारा सहज रोजगारको व्यवस्था भए युवाले पढ्न र रोजगारीको लागि विदेशिनु नपर्ने बताए ।  उनले मोरङ क्याम्पसमा नै आफूले पढेको र प्रारम्भिक कालमा प्राध्यापन पनि गरेकोले त्यसबेला वार्षिकोत्सव भव्य हुने गरेको स्मरण गराए ।
सो अवसरमा सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेलले महेन्द्र मोरङ क्याम्पसको इतिहास बारे जानकारी गराएका थिए । पुरस्कृत व्यक्ति छनोट समितिका सदस्य डा मोहन सुवेदीले उत्कृष्ट प्राध्यापक र कर्मचारी छनोट गर्ने कार्य समितिले निष्पक्ष रूपमा सम्पन्न गरेको बताउदै क्याम्पसको विकास र प्राज्ञिक उन्नयनको लागि प्राध्यापक र कर्मचारी सबैको भूमिका महत्त्वपूर्ण भएको बताए । स्ववियू सभापति जसवन्त पौडेलले क्याम्पसको वार्षिकोत्सव विद्यार्थीकालागि पनि हुनु पर्नेमा जोड दिए । 

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस २०१२ साउन १६ गते स्थापना भएको र सोही मितिको आधारमा  विगत पाँच वर्षदेखि सो क्याम्पसले साउन १६ गते स्थापना दिवस उत्कृष्ट  प्राध्यापक र कर्मचारी सम्मान गरी मनाउँदै आएको  छ ।