विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेस नगर्ने ११ वटा निजी विद्यालयलाई महानगरपालिकाले कार्वाही गर्ने भएको छ।  छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयहरूलाई २४ घण्टे अल्टिमेटम दिएको महानगरपालिकाले विवरण नबुझाएको र सम्पर्कमा नआएका विद्यालयहरूलाई कार्वाही गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए ।
विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयहरूमाथि कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको हो । 
महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०७९ को बाल विकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बाल विकासदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण हालसम्म पेस नगर्ने ११ वटा विद्यालयमाथि कारबाही अगाडि बढाउने भएको हो । निर्धारित समयमा विवरण नबुझाउने विद्यालयहरूमा विराट मोर्डन पब्लिक स्कुल विराटनगर १८, मेरिगोल्ड सेकेण्डरी इङ्लिस स्कुल विराटनगर ६, उदयनन्द मेमोरियल सेकेण्डरी इङ्लिस स्कुल विराटनगर ४, डि.जे.भि.एम.ई.बो. स्कुल विराटनगर १८ रहेका छन् । त्यस्तै एमिटी इन्टरनेशनल स्कुल विराटनगर ८, एकता ब्राईटफ्युचर स्कुल विराटनगर ६,  पाथीभरा इङ्लिस बोर्डिङ स्कुल विराटनगर ८,  लालीगुराँस एकेडेमी विराटनगर १९,  शिव विद्यामन्दिर स्कुल विराटनगर ११, सनराईज नेशनल इ.बो. स्कुल र बालबालिका इ.बो. स्कुललाई कार्वाहीको अन्तिम तयारी थालिएको मेयर कोइरालाले जानकारी दिए । ‘हामीले पहिलो चरणमा स्पष्टीकरण सोधेका थियौँ, सोधिएको २४ घण्टे स्पष्टीकरणबाट पनि विवरण आएको छैन, उनले भने, अब हामी कसरी अगाडी बढ्ने भन्ने बारेमा १।२ दिन भित्रै अर्को बैठक बसेर निर्णय गर्नेछौँ ।’
एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको सङ्ख्या  ८९ रहेको छ  ।  त्यस्तै (आईईएमआईएस)मा दर्ता नभएका विद्यालयको सङ्ख्यासमेत जोड्ने हो भने महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालयहरू सञ्चालनमा रहेको महानगरपालिकाले जनाएको छ। 

यसै गरी शैक्षिक सत्र २०८० मा कक्षा ११ को छात्रवृत्ति व्यवस्थापनसम्बन्धी परीक्षा महानगर आफैँले लिने तयारी गरेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।