विराटनगर । विराटनगर महानगरपालिकाले नयाँ आर्थिक वर्ष सुरु भए सँगै छात्रासँग उपमेयर कार्यक्रमलाई निरन्तरता दिएको छ । जेसी बाल सदन माविका  ‘छात्राहरूसँग उपमेयर’ कार्यक्रमसँगै चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रमलाई सुरुवात गरिएको हो ।
विराटनगर महानगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसँग छात्राहरूले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गरिन् । ‘तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु भएन भने मलाई भन्नुहोस् महानगरपालिका तपाईँहरूको सधैँ साथमा रहनेछ, उनले भनिन्, तपाई बालिकाको समस्यामा हामी  सधैँ सँगै हुनेछौँ ।’
छात्राहरूको जस्तोसुकै समस्या समाधान गर्न महानगर तयार रहेको उनले बताइन् ।  उपमेयर कार्कीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरूलाई साथी नबनाउन समेत आग्रह गरिन् । ‘सामाजिक सञ्जाल मार्फत साथी बनेर अनैतिक कार्य गरेको पनि पाइएको छ, उनले भनिन्, सामाजिक सञ्जाल अत्यन्त जोखिम क्षेत्र हो ।’  यसअघि महानगरपालिकाले सुरु गरेको  छात्रासँग उपमेयर कार्यक्रमलाई निरन्तरता दिइँदै बालिकाको समस्यामा महानगरपालिकाले समाधान गर्ने गरी अभियान चलाइएको उपप्रमुख कार्कीले बताइन् । 
विद्यालयमै पुगेर सञ्चालन गरिएको छात्रासँग उपमेयर कार्यक्रम निकै प्रभावकारी भएको कार्कीको भनाई छ । कार्यक्रममा सहभागी कर्मचारी र शिक्षकलाई हल बाहिर पठाएर छात्राहरूसँग मात्र  हलभित्र अन्तरक्रिया भएको थियो ।  उपमेयर कार्कीले छात्राहरूले खुलेर आफ्ना समस्याहरू सुनाएका छन्  । त्यस्तो जटिल किसिमको समस्या नआए पनि  छात्राहरूले खुलेर आफ्ना मनका कुरा राखेको बताइन् ।  
कार्यक्रममा विराटनगर जेसीजका पूर्व अध्यक्ष सेवक बजगाईँ, महानगरको शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्मा लगायत सहभागी थिए ।