विराटनगर । इनरुवामा रहेका मेडिकलहरूको अनुगमनमा पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको टोलीलाई मेडिकल व्यवसायीहरूले थुनेका छन् । अनुगमनका क्रममा कागज पत्र चेकजाँच गर्ने क्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न गएको टोलीलाई मेडिकल हल भित्रै थुनेका छन् । मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्लोसिसस मेडिकल हलको  सटर झारेर थुनेको हो । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडा, जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ, जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरे लगायत छन् ।

उनीहरूले इनरुवा नगरपालिकाका उप मेयर विनीता मेहताको मेडिकलमा समेत चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उप मेयरका श्रीमान् योगेन्द्र मेहतासँग विवाद भएको थियो । विवाद पछि अर्को मेडिकलमा अनुगमन गर्न गएका बेला उप मेयरका श्रीमान् योगेन्द्रको नेतृत्वमा अनुगमन टोलीलाई थुनेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख प्रशासकीय अधिकृत केशव खतिवडाले बताए । अहिले इनरुवा स्थित अस्पताल चोकमा मेडिकल व्यवसायी र स्थानीयले नाराबाजी गरिरहेका छन् । प्रहरीले थुनामा रहेको अनुगमन टोलीलाई निकाल्ने प्रयास गरिरहेको छ ।