विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ तिनघुम्ती मार्गका आदर्श पौडेल एकाएक बिरामी परे । शरीर दुख्ने, टाउको दुख्ने, जीउ कटकटी खाने तथा हाड जोर्नी दुख्ने समस्या देखियो । हल्का ज्वरो समेत आएपछि उनी नजिकैको मोरङ सहकारी अस्पतालमा गए । लक्षणको आधारमा उनी त्यहाँबाट पनि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान गए । डेंगु परीक्षण गरियो, परीक्षणबाट उनलाई डेँगु भएको पुष्टि भयो । उनको लक्षणका आधारमा विराटनगर महानगरपालिका वडा नम्बर ४ को स्वास्थ्य टोलीले त्यहाँको अवस्थाको बारेमा जानकारी लियो । कमला बराल तथा कल्पना पोखरेल सहितको टोली त्यहाँको स्वयम् सेविका मार्फत  डेंगु सार्ने लामखुट्टेको लार्भा भएका स्थानहरूको खोजी र नष्ट गर्ने अभियानमा लागे ।  
लामखुट्टेको माध्यमाबाट सर्ने डेंगु नियन्त्रणका लागि लामखुट्टेले बनाउने लार्भा भएका स्थानहरूको खोजी गर्ने र नष्ट गर्ने अभियान एक हप्तासम्म चलेको  वडा नम्बर ४ की स्वास्थ्य संयोजक कमला बरालले जानकारी दिइन् ।   ‘डेंगु सङ्क्रमितलाई ठिक  हुँदै गर्दा हामीले लार्भा नष्ट अभियान चलाएका थियौ, उनले भनिन्,  अरू थप सङ्क्रमण हुन सक्ने भएकोले खोजी पनि गरियो, हिजो मात्र स्प्रे पनि गरिएको छ ।’ अहिले पनि विभिन्न ठाउँहरूबाट ज्वरो आयो भन्ने खबरहरू आउने गरेको छ, तर परीक्षण गर्दा डेंगु भने पोजेटिभ नआएको बरालले बताइन् । khoja and nasta
विराटनगर महानगरपालिका वडा नम्बर ४ को यो घटना एउटा उदाहरण मात्र हो । यस्ता कामहरू विराटनगर महानगरपालिकाका सबै वडाहरूमा हुँदै आएको छ ।   विराटनगर महानगरपालिकाले चलाएको डेंगु नियन्त्रणको लागि खोज र नष्ट गर अभियानलाई तीव्रता दिइएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । विराटनगर महानगरपालिकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट  डेंगु सम्बन्धी विशेषज्ञहरू बोलाएर स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई डेंगु रोकथाम नियन्त्रणको लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेपछि महानगरपालिका भित्रका ११० जना स्वास्थ्यकर्मीलाई डेंगु नियन्त्रण बारेमा प्रशिक्षण दिइएको थियो । तालिम लिएका स्वास्थ्यकर्मीहरुले १४८ जना महिला स्वास्थ्य स्वयम सेवीहरूलाई  डेगु नियन्त्रण र रोकथामको लागि खोज र नष्ट  अभियानमा सामेल गरिएको महानगरले जनाएको छ। 
१४८ जना महिला स्वास्थ्य स्वयम् सेविका मार्फत हरेक एक जना महिला स्वास्थ्य स्वयम सेविकाले २५ जनाको  समूह बनाएर  डेंगु रोकथामकोलागि आमा समूह गठन गर्नु पर्ने व्यवस्था अनुसार काम भएको अलीले जानकारी दिए । 
स्वास्थ्य स्वयम् सेविका मार्फत झन्डै ५ हजार जनामा  खोज र नष्ट गर अभियान पुर्याईएकोले डेंगु नियन्त्रणका लागि तल्लो तहसम्म नै संयन्त्र बनिसकेको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् । ‘वर्षाको समयमा  डेंगुको सङ्क्रमण बढ्न सक्ने भएकोले त्यसको रोकथामको लागि स्वास्थ्य महाशाखाले  खोज र नष्ट गर अभियान चलाई रहेको छ, उनले भनिन, यो अभियानमा महिला स्वास्थ्य स्वयम् सेविकाहरू जोडिनु भएको छ।’ 
महानगरको यो अभियानमा हरेक वडामा हप्तामा एक पटक चार हप्तासम्म खोज र नष्ट गर अभियान चलाइएको थियो भने अहिले पनि त्यस्तो डेंगु संक्रमण भएको ठाउँहरूमा खोज र नष्ट गर अभियानसँगै स्प्रे समेत गर्ने गरिएको छ। विराटनगरमा एकदमै कम मात्रामा डेंगुको सङ्क्रमण देखिने गरेको भए पनि विराटनगरका विभिन्न अस्पतालहरूमा उपचार गर्न आउनेहरूको संंख्या एक वर्षमा ५२२ जनाको हाराहारीमा रहेको छ । यसरी उपचार गर्न आउने विराटनगरको मात्र नभई अन्यत्रबाट समेत आएकाहरूको तथ्याङ्क हो । यो विराटनगरका अस्पतालहरूले अनलाइनमा दर्ता गरेको तथ्याङ्क हो । 

पानी जम्ने खाल्टाखुल्टी, टायर, बाल्टी, गमला लगायतका ठाउँहरू, फ्रिजबाट झरेको पानी जम्ने स्थानहरूका सफा पानीमा डेंगु फैलाउने लामखुट्टेले लार्भा पार्ने हुनाले  यो बारेमा सम्झाउने बुझाउने काम भएको महानगरपालिकाले जनाएको छ।