विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा तारा मण्डल बन्ने भएको छ। विश्वविद्यालयको तारा मण्डल बनाउने बारेमा बनाइएको समितिले लागत प्रतिवेदन बुझाएसँगै तारा मण्डल बनाउने विषय अघि बढेको हो । प्रदेश सरकारले बनाएको विश्वविद्यालयमा एक सय सिट क्षमताको तारा मण्डल बनाउने बारेमा दाताको खोजी हुने जनाइएको छ। तारा मण्डल निर्माण सम्बन्धी प्रस्ताव पेस गर्न  विश्वविद्यालयले  मुकेशकुमार उपाध्याय, सत्यनारायण चौधरी र हरि शर्मा काफ्ले सदस्य रहेको समिति बनाएको थियो । समितिले विश्वविद्यालयमा तारा मण्डल बनाउनको लागि  १५ करोड बराबरको लागत अनुमानको प्रस्ताव हस्तान्तरण गरेको उपकुलपति सुबासश्री पोखरेलले जानकारी दिए । ‘हामीलाई प्रतिवेदन प्राप्त भएको छ, पोखरेलले भने, अब विश्वविद्यालयले विभिन्न निकायहरूसँग  तारा मण्डल निर्माणका लागि ठोस पहल कदमी लिनेछ ।’