जीवन आचार्य, पूर्व मन्त्री, पर्यटन वन तथा वातावरण मन्त्रालय
विराटनगर । यहाँहरूको न्यानो माया, सद्भाव र भरोसा बोकेर मैले नेकपा (माओवादी केन्द्र) को निर्णयबमोजिम प्रदेश सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त गरेको अवगत नै छ ।
निर्वाचनका क्रममा जनतासँग प्रत्यक्ष संवादका क्रममा हाम्रो प्रदेशलाई समृद्ध र नमुना प्रदेशका रूपमा विकास गर्ने हुटहुटीले मेरा सामु गहन जिम्मेवारी र चुनौतीहरू थिए । मैले जनताको अपेक्षा अनुरूप अहोरात्र काम गरेको स्मरण नै छ ।
मन्त्री पदको शपथ लिँदै गर्दा मेरा केही मान्यता र अठोट थिए । मैले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै पारदर्शी ढङ्गले काम गर्ने, आफ्नो पूर्ण समय मन्त्रालयका काममा लगाउने, अनावश्यक कार्यक्रम भन्दा जनतासँग प्रत्यक्ष जोडिने र योजनाबद्धरुपमा प्रदेशको विकासका लागि भूमिका निर्वाह गर्ने सङ्कल्प मैले लिएको थिएँ । म आफ्नो प्रतिबद्धता र सङ्कल्पमा कति खरो उत्रिए या उत्रिएन भन्ने कुरा यहाँहरू सामु प्रस्ट नै छ ।
आज गर्वका साथ शिर ठाडो पारेर भन्न सकिन्छ, मैले नेतृत्व गरेको मन्त्रालयमा भ्रष्टाचारको कुनै पनि गन्ध आएन, आउन पाएन । यसका लागि म मातहतका सचिवालयका साथीहरू, जनसमुदायले प्रकट गर्नुभएको शुभेच्छा र कर्मचारी साथीहरूप्रति धन्यवाद र आभार प्रकट गर्दछु।
मेरा सुरुआत दिनहरू मन्त्रालयको काम कार्यवाहीको समीक्षामा बित्यो । यसका लागि मैले प्रदेशका सम्बन्धित कार्यालयको निरीक्षण, सञ्चालन भई रहेका योजनाहरूको प्रगति, कर्मचारीको रिपोर्टिङ र जनगुनासो सुन्न हरेक ठॉऊ पुग्ने प्रयास गरेँ। के कारणले ढिलासुस्ती हुने रहेछ र के कारणले बजेटमा विनियोजन भएका कार्यक्रमहरू पनि कार्यान्वयन हुन नसक्दा रहेछन् भन्ने कुरामा मैले बढी ध्यान केन्द्रित गरेँ ।
सुरुआत अध्ययनपछि मैले केही मन्त्रि स्तरीय निर्णय गरेँ । समग्र पर्यटन विकासका लागि आयोजनाहरू सम्झौता गर्न मन्त्रालयमै धाउनु पर्ने बाध्यताको अन्त्य गरी सम्बन्धित जिल्लामै रहेको वन डिभिजन कार्यालय मार्फत सम्झौता गर्न सकिने मन्त्री स्तरीय निर्णय गरियो। जसका कारण केही छिटपुट बाहेक प्राय सबै योजनाहरू सम्झौता हुन सम्भव भएका छन् ।
व्यापक जनगुनासो, स्थानीय तहसँग बाझिएका ऐन कानुन र झन्झट, विभिन्न किसिमका संरक्षित वन उपभोक्ता समितिका गुनासाहरू र समग्र प्रदेशको राजश्वमा वृद्धि हेतु निकै मेहनतका साथ सार्वजनिक हुने चरणमा रहेको महत्त्वपूर्ण “वन नियमावली २०८०” पारित गर्ने सङ्घारमा हामी थियौँ। तर संयोग नै मान्नुपर्छ पछिल्लो राजनीतिक घटनाक्रमका कारण हामीले त्यो सार्वजनिक गर्नबाट वञ्चित हुनपर्‍यो। म प्रदेश सरकारलाई तयार अवस्थामा रहेको वन नियमावली पास गरेर यथाशीघ्र वन पैदावार र वनसँग सम्बन्धित समस्याहरूको हल गर्ने वातावरण निर्माणका लागि अनुरोध गर्दछु ।
यो अवधिमा मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालय तथा क्षेत्रगत प्रत्यक्ष अनुगमनसँगै प्रशासनिक सुधारका लागि सङ्गठन सर्वेक्षण तथा व्यवस्थापन प्रतिवेदन निर्माण अन्तिम चरणमा पुर्‍याएको जानकारी गराउन चाहन्छु ।
यसैगरी लामो समयसम्म ठुलो समस्याको रूपमा रहेको सङ्घ फाजिल (पुल) दरवन्दिमा रहेका फरेष्टरहरुलाई प्रदेशमा समायोजन गर्ने प्रक्रिया अन्तिम चरणमा निकै मेहनतका साथ पुर्याई सकिएको जानकारी गरॉउदछु। आशा छ सरकारले यसलाई पनि अन्तिम रूप दिने नै छ।
निर्माणाधीन वन निर्देशनालय भवन निर्माण सम्बन्धमा धरान उपमहानगर र वन निर्देशनालय धरानबिचको लामो समय देखिको विवाद समाधानमा सहजीकरण गरी भवन निर्माण अन्तिम चरणमा रहेको छ।
खेल पर्यटन मार्फत पर्यटन प्रवर्द्धन गर्न ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका २ चर्चित पौराणिक स्थानहरू विराट राजाको दरबार देखि बर्जू ताल सम्म म्याराथन दौडको आयोजना गरी राष्ट्रिय एवं अन्तराष्ट्रिय रूपमा पर्यटक भित्र्याउन पहल गरेको जानकारी गरॉउदछु ।
पर्यटन व्यवसायीसँगको वृहत् छलफल पछिको गुनासोपश्चात् प्रदेश सुरक्षा निकायका प्रमुखहरूसँग समग्र पर्यटन सुरक्षाको विषयमा छलफल गरी सुरक्षाको प्रत्याभूति दिने प्रयास गरेँ ।
यो अवधिमा संयुक्त राष्ट्र सङ्घीय संस्था एफएओ मार्फत हिमाली र मध्य पहाडी जिल्लाको जैविक विविधता कार्यक्रमका लागि ४२ लाख अमेरिकी डलर भित्र्याउन सफल भइयो । तर संयोग नै मान्नु पर्छ त्यो सम्झौता पत्रमा हस्ताक्षर गर्ने अवसरबाट म वञ्चित भएको छु, सरकारले त्यो आइसकेको अनुदान रकम केही दिनभित्रै पहल गरी ल्याउने अपेक्षा गर्दछु । साथै केही अन्तर्राष्ट्रिय दाताहरू सँग सङ्घीय सरकार मार्फत आर्थिक सहयोगको पहल भएको र सो कुराको पनि पहलको निरन्तरता रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु।
आदरणीय जनसमुदाय, मैले नेतृत्व गरेको मन्त्रालयमा हरेक दिन केही न केही नयाँ गर्ने प्रयास पक्कै पनि हामीले गर्‍यौँ । आशा गरेर आउनुभएका हरेक दिदीबहिनी दाजुभाइलाई सकेको खुसी पार्ने प्रयास हाम्रो हर हमेसा रह्यो नै।
प्रतिनिधि उपलब्धिहरू यहॉ उल्लेख गरेता पनि हाम्रा धेरै भन्दा धेरै आसलाग्दा योजनाहरू सञ्चालन हुने तयारीमा रहेका छन् । अब ती योजनालाई सरकारले अघि बढाउने नै छ भन्ने विश्वास लिएको छु ।
प्रदेश सरकार आर्थिक रूपमा मजबुत हुनुपर्छ भनेर प्रदेश सरकारले लगानी गर्दा प्रदेश सरकारलाई रिटर्न आउने खालका योजनालाई प्राथमिकतामा हामीले राख्यौँ जसका कारण धेरै भन्दा धेरै योजना लिएर प्रदेशवासीहरू आउने क्रम तीव्र थियो । म सरकारलाई यो महत्वकॉक्षी सोच र योजनालाई निरन्तरता दिन सुझाव दिन चाहन्छु । यसले समग्र प्रदेशको राजश्वको खातामा राम्रै रकम सङ्कलन हुने छ।
मन्त्रीको रूपमा मेरो कार्यकाल छोटो रह्यो, बदलिएको राजनीतिक परिस्थितिका कारण छोटो समयमै सरकारबाट बाहिरिएको छु तर मैले छोटो समयमा पनि केही न केही पक्कै गरेको छु भन्ने विश्वास लिएको छु । मलाई विश्वास गरेर जिम्मेवारी दिने मेरो गौरवशाली पार्टी, मलाई योग्य ठानेर विश्वास गर्नुहुने मेरो क्षेत्रका आदरणीय मतादाता कसैको पनि शिर झुक्ने काम म बाट भएको छैन र आगामी दिनमा पनि हुने छैन भन्ने विश्वास दिलाउन चाहन्छु।
यस दौरानमा मलाई मायाँ प्रेम र स्नेहका साथ दैनिक काममा सहयोग समर्थन गर्नुहुने माननीय मुख्यमन्त्री, मन्त्रीज्यूहरु, माननीय ज्यूहरू, मन्त्रालयका सचिवालयका साथीहरू, कर्मचारी साथीहरू लगायत आफ्ना आफन्त इष्टमित्र शुभेच्छुक सबै सबै प्रति म ऋणी छु र सबै प्रति हार्दिक आभार प्रकट गर्दछु । प्रदेशको समग्र विकासका लागि मेरो प्रयास र भूमिका निरन्तर सक्रिय रहने नै छ भन्ने विश्वास दिलाउन चाहन्छु।
धन्यवाद