विराटनगर । माओवादीबाट कोशी प्रदेश सरकारमा रहेका माओवादीबाट मन्त्री भएका २ जनाले राजीनामा दिएका छन् । माओवादी कोशी प्रदेश संसदीय दलले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गा प्रसाद चापाँगाइ र पर्यटन,वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।
मङ्गलवार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् । उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए ।
कोशी प्रदेश सरकारमा मन्त्री भई कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनीतिक परिस्थितका कारण नेकपा माओवादी केन्द्र पार्टीले तँ पाईको नेतृत्वमा रहेको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेकोले मैले तपाईँको सरकारमा रही निरन्तरता दिन नसक्ने अवस्था सृजना भएकोमा आजको मितिबाट लागु हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु,’ राजीनामा पत्रमा उल्लेख छ ।
मङ्गलवार प्रदेश पदाधिकारी र संसदीय दलको बैठकले माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट पनि मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको थियो । निर्णय लिएसँगै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई दिएका थिए ।

















