विराटनगर । कोशी प्रदेश सरकारमा रहेको राप्रपाले अहिलेको सरकारको निरन्तरताको विकल्प नभएको जनाएको छ । 
मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला सहित बसेको बैठकले सरकारको निरन्तरताको विकल्प नभएको निष्कर्ष निकालेको हो । 
बैठकमा राप्रपाका अरू प्रदेश सांसद समेत सहभागी थिए । बैठकमा एमालेबाट कोशी प्रदेश सरकारमा रहेका मन्त्री, एमाले संसदीय दलका सचेतक र विराटनगरमा उपलब्ध केही प्रदेश सभा सदस्यहरू सहभागी थिए।  बैठकले बजेट नीति तथा कार्यक्रम ल्याउने बेलामा सरकार परिवर्तन गर्न ठिक नभएको निष्कर्ष निकालेको छ । 
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट मन्त्रीहरू फिर्ता गराउने तयारी गरिरहँदा माओवादी बाहेक सरकारमा रहेका दलहरूको बैठक बसेको हो । 
राप्रपा संसदीय दलका नेता तथा मन्त्री भक्ति सिटौलाले राप्रपाले यो सरकारको निरन्तरताका बारेमा बाहेक अरू नसोचेको बताए । उनले  भने हामीले अहिले सरकार परिवर्तनका बारेमा सोचेका छैनौ । अरूले सरकार छाडे पनि नछाडे पनि राप्रपाले सरकार छाड्दैन । दिएको समर्थन पनि फिर्ता लिँदैन 
बैठकमा सहभागी सामाजिक विकास मन्त्री बुद्धिकुमार राजराजभण्डारीले सरकारको निरन्तरताका विषयमा राप्रपा सकारात्मक भएको बताए । 
कोशी प्रदेश सरकारमा एमाले सहित राप्रपा,माओवादी सहभागी छन् । सत्ता साझेदार माओवादीलाई सोमबार सरकारलाई दिएको समर्थन फिर्ता गर्न माओवादी केन्द्रले निर्देशन दिएको छ । 
माओवादी सचिवालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट पनि बाहिर निस्कन निर्देशन दिएपनि माओवादी कोशी प्रदेश संसदीय दलले औपचारिक रूपमा सरकारबाट बाहिरिने निर्णय गरिसकेको छैन । 
सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने विषयमा हिजो बसेको माओवादी संसदीय दलको बैठक विना निष्कर्ष सकिएको छ ।