विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रमिकको समस्या समाधान गरेर जान सरकार तयार रहेको बताएका छन् । प्रदेश सरकारले सम्बोधन गर्न सक्ने श्रमिकका समस्यालाई समाधान गरेर जान आफू तयार रहेको बताएका हुन् ।
विराटनगरमा मे १ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पछिल्ला सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा ध्यान नदिएको बताए ।
मजदुर भनेको राज्यको लागि महत्त्वपूर्ण शक्तिको रूपमा रहेको भए पनि मजदुरको समस्यालाई राज्य,सरकार तथा मालिकले नसुन्नु दुःखद रहेको बताए । उनले श्रमसँग जोडिएको मन्त्रालयमा श्रमिक डेस्क बनाउने,सबै पालिकामा डेस्क राख्ने खालको कानुनी व्यवस्था गरेर जाने वातावरण बनाउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे ।
‘कुन कुन क्षेत्रमा पहल गर्दा मजदुरका अधिकार सुरक्षित हुनेछन्,त्यसको बारेमा आधिकारिक जानकारी गराउन आग्रह गर्दछु’ उनले भने, ‘आगामी ज्येष्ठको १५ पछि बन्ने बजेट नीति तथा कार्यक्रमले मजदुरका समस्यालाई समाधान गरेर जान म तयार छु ।’
उद्योग मन्त्रालयमा श्रमिक डेस्क राख्ने काम साउनदेखि नै सुरु गरिने उनले उद्घोष पनि गरे ।
फरक प्रसङ्गमा कुरा गर्दै मुख्यमन्त्री कार्कीले कोसी नामकरण कुनै पनि समुदायको विपक्षमा नभएको बताए । शान्तिपूर्ण रूपमा विरोधका कार्यक्रम गर्न सकिने बताएका मुख्यमन्त्री कार्कीले शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक नबनाई शान्तिपूर्ण आन्दोलन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
एमालेलाई कमजोर पार्न सकियो भने अस्थिरता ल्याउन गर्न सकिन्छ भनेर पछिल्ला समय एमाले लक्षित गरी आक्रमण गर्ने काम भएको कार्कीले बताए । मुख्यमन्त्री कार्कीले एमालेलाई कमजोर पार्न विदेशी शक्तिहरू लागेको समेत बताए ।
नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टका प्रदेश अध्यक्ष किशोर धमलाले सरकारले श्रम ऐन कार्यान्वयन, हरेक सरकारका निकायहरूमा श्रम डेस्क स्थापना, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पूर्ण कार्यान्वयन गरेर जानू पर्ने बताए ।।