इटहरी । इटहरी खानेपानी उपभोक्ता संस्थाले प्रविधिको प्रयोगलाई प्राथमिकता राखेको छ । संस्थाले आधुनिक प्रविधिको प्रयोग गर्दा सेवा ग्राहीलाई सहज भएको छ भने संस्थाको  समेत सञ्चालन खर्च कटौती भएको छ । 
संस्था अनलाइन पेमेन्ट सिस्टममा गएपछि सेवा ग्राहीलाई घण्टौँ लाइन बसेर बिल भुक्तानी गर्नु पर्ने झन्झट हटेको छ । 
खानेपानीको महसुल अनलाइन डिजिटल भुक्तानी सुरु गरेपछि मासिक शुल्क सङ्कलन गर्न सहज भएको छ । बिल तिर्न कार्यालय तथा काउन्टरमा हुने भिडभाड पनि नियन्त्रणमा आएको छ । 
संस्थाले मोबाइल बैङ्किङ तथा डिजिटल भुक्तानी गर्ने विभिन्न एप्स मार्फत महसुल  सङ्कलन गर्न थालेपछि कार्यालय तथा उपभोक्ता दुवैलाई सहज भएको हो । 
इटहरी खानेपानी उपभोक्ता संस्थाका व्यवस्थापक हरि कट्टुवाल  अनुसार संस्थाले सङ्कलन गर्ने मासिक महसुलको रकम मध्ये ६५ प्रतिशत डिजिटल भुक्तानी मार्फत नै हुन थालेको छ  । 
उपभोक्ताले घरमै बसिबसी मोबाइल बैङ्किङ तथा डिजिटल वालेट मार्फत बिल तिर्न सक्छन् । उपभोक्तामा आएको डिजिटल साक्षरता र कारोबारले इटहरी खानेपानीको रकम सङ्कलनमा धेरै सहज भएको छ ।   अर्को तर्फ बिल तिर्न संस्थाको काउन्टरमा हुने ७० प्रतिशत भिडभाड पनि कम भएको छ । 
अनलाइनबाट महसुल भुक्तानी हुन थालेपछि संस्थाका सञ्चालन खर्चमा कटौती भएको छ । स्टाफ र काउन्टर घटाउँदा सञ्चालन खर्च बचेको कट्टुवालले बताए । 
खानेपानी संस्थाले मिटर रिडिङ गरेँ सँगै उपभोक्ताको मोबाइलमा म्यासेज जान्छ । उपभोक्ताले टिपाएको मोबाइल नम्बरमा पानीको बिल कति आयो भन्ने म्यासेज जान्छ । सोही आधारमा उपभोक्ताले डिजिटल वालेट वा मोबाइल बैङ्किङ मार्फत बिल तिर्न सक्छन् । 
खानेपानी उपभोक्ता संस्थाले २ वर्ष अघिबाट शुल्क भुक्तानीलाई सहज बनाउन अनलाइन पेमेन्ट सुरु गरेको थियो । 
अहिले ई–सेवा, खल्ती, आईएमई पे, प्रभु पे, एनएमबि बैङ्क लगायतका डिजिटल वालेट मार्फत खानेपानीको बिल तिर्न सकिन्छ ।

खानेपानी संस्थाले यी डिजिटल वालेटसँग सम्झौता गरेर सेवा सञ्चालन गरिरहेको छ ।  
इटहरीको खानेपानीको महसुल नेपालका सबै बैकहरूले सञ्चालन गरेको मोबाइल बैकिंग मार्फत समेत तिर्न सकिन्छ । 
इटहरी खानेपानी संस्थाले आगामी वर्ष डिजिटल भुक्तानीलाई प्रवर्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । विशेष गरी कोभिड १९को सङ्क्रमण पछि देशमा डिजिटल कारोबार बढेको हुनाले संस्थाले पनि डिजिटल भुक्तानीलाई विस्तार गर्दै लाने जनाएको छ । 
संस्थाले बिलको शुल्क सङ्कलनलाई पूर्ण डिजिटल बनाउँदै अनलाइन कारोबारलाई बढाउँदै लैजाने योजना लिएको छ । 
यस्तै संस्थाले दिन अन्य सेवालाई पनि अनलाइन बनाउने जनाएको छ । खानेपानीको लागि दिइने  आवेदनलाई पनि अनलाइन बनाईदैछ । यसका लागि सबै प्रक्रिया पुरा भएको संस्था व्यवस्थापक हरि कट्टुवालले जानकारी दिए । संस्थाले मोबाइल एप्स पनि सुरु गरेको छ । उपभोक्ताले मोबाइल एप्सबाट नै गुनासो टिपाउन सक्छन् ।

खानेपानीको बिल मोबाइलबाट कसरी तिर्ने ? 

इटहरी खानेपानी उपभोक्ता संस्थाले अहिले ई–सेवा, खल्ती आईएमई पे, प्रभु पे, लगायतका डिजिटल वालेटबाट यो सुविधा दिएको छ । साथै नेपालका अन्य कुनै पनि बैङ्कको मोबाइल बैङ्किङ मार्फत बिल तिर्न सकिन्छ । 
माथि उल्लेखित डिजिटल वालेट आफ्नो मोबाइलमा डाउनलोड गर्ने, त्यसमा आफ्नो मोबाइल नम्बर राखेर खाता खोल्ने ।  आफ्नो मोबाइल बैङ्किङ बाट डिजिटल वालेटमा रकम ट्रान्सफर गर्ने  । 
डिजिटल वालेटमा देखिने पानीको धारा भएको लोगोमा क्लिक गर्ने । त्यस पछि देखिने काउन्टर अप्सनमा गएर इटहरी खानेपानी छान्ने । महिनाको अप्सनमा अल क्लिक गर्ने ।
कस्टुमर आइडीमा आफ्नो खानेपानीको ग्राहक नं. टाइप गर्ने । तपाईँको बिलको रकम सहितको विवरण देखाउँछ । 
विवरण ठिक भएपछि वालेटको पिन नम्बर हालेर पैसा तिर्ने । पैसा तिरेको रसिद देखाउँछ, त्यो आफ्नो सुविधाको लागि डाउनलोड गरी राख्न पनि सकिन्छ । 
अर्को तरिकामा अहिले प्राय सबै बैङ्कले मोबाइल बैङ्किङ सेवा दिएकै हुन्छ । प्रत्येक बैङ्कको आफ्नै मोबाइल एप्स सञ्चालन छन् । त्यहाँ विभिन्न डिजिटल वालेटसँग लिङ्क गरिएको हुन्छ । त्यहाँबाट पनि सिधा लिङ्क गरी मोबाइल बैङ्किङ एप्स मार्फत तिर्न पनि सकिन्छ । यसरी आफूले तिरेको रकमको बिल प्रिन्ट वा डाउनलोड गरी सुरक्षित राख्न सकिन्छ ।