विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालले  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनलाई अटेर गरेको छ । मन्त्रालयको निर्देशन अटेर गरेर  अस्पतालले सार्वजनिक बिदाको दिन ओपिडी (बहिरङ्ग) सेवा सञ्चालन नगर्दा सयौँ बिरामी मर्कामा अलपत्र परेका छन् ।

अस्पतालमा सेवा लिन आएका बिरामीहरू ओपिडी सेवा बन्द भएका कारण समस्यामा परेका हुन् । विराटनगर–४ की रमिता श्रेष्ठले ओपिडी खुला हुने विश्वासमा अस्पताल आए पनि घण्टौँ कुर्दा समेत सेवा नपाएको गुनासो गरिन्।उनले भनिन् सरकारले बिदाका दिन पनि ओपिडी सेवा सञ्चालन गर्नु भन्ने निर्देशन सुनेकाले अस्पताल आएकी हुँ । तर डाक्टरले नहेरेपछि फर्किन लागेकी छु ।

कोशी अस्पतालमा दैनिक १५ सय भन्दा बढी बिरामीहरू ओपिडी सेवा लिन आउने गरेका छन्  । बिदाका दिन ओपिडी सेवा सञ्चालन नगर्दा सार्वजनिक बिदाका दिन बाहेक बिरामीको चाप अत्यधिक हुने गरेको छ ।

सरकारले शनिवार र आइतबार सार्वजनिक बिदा दिए पनि अस्पतालमा भने बिदाका दिन पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ  तर कोशी अस्पतालले भने बिदाका दिन ओपिडी सेवा सञ्चालन नगरेको अस्पतालका सूचना अधिकारी गजेन्द्र यादवले राजपत्रमा सूचना निकालेर बिदा दिएको दिनमा मात्रै ओपिडी सेवा सञ्चालन हुने बताए ।

उनले भने, अहिले शनिवार र आइतबारका बिदाहरूमा हामीले ओपिडी सेवा चलाएका छैनौ । सरकारले यी दिनहरूमा ओपिडी चलाउनु भनेको छैन । उनले आज भने ओपिडी सेवा बन्द भएको बताए । उनका अनुसार सरकारले आइतबार पनि बिदा दिएपछि पहिलो हप्ता कोशी अस्पतालमा आइतबार ओपिडी सेवा दिएको र त्यस यता भने नदिइएको बताए । उनले भने, हामीलाई आइतबार ओपिडी चलाउनु भन्ने निर्देशन छैन ।

त्यही भएर ओपिडी सेवा दिएका छैनौ । यस पटक लगातार तीन दिन सम्म सार्वजनिक बिदा परेको छ । सार्वजनिक बिदा तीन दिन परेकाले बिरामीहरू समस्यामा परेको बताउँछन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा  भक्तबहादुर केसीले अस्पतालहरूले निर्देशन पालना गर्नुपर्ने बताए  । उनले लगातार बिदाका कारण सेवा अवरुद्ध हुन सक्ने देखिएकाले ओपिडी सञ्चालन गर्न निर्देशन दिइएको  बताए  ।