सुनसरी । घुमघाम गर्न पर्यटक आगमनको सिजनको पछिल्लो तीन महिनामा काँकडभिट्टाबाट एक हजार १०६ जना  विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् । नेपाल प्रवेश गर्ने विदेशी पर्यटकमा भूटानी पर्यटक धेरै छन् । 

अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार साउन देखी असोज महिना सम्म ४७८ जना भुटानी नागरिक नेपाल प्रवेश गरेका छन् । यस्तै अमेरिकाबाट २४२ जना, अस्ट्रेलियाबाट ४९ जना, बेलायतबाट ४० जना र बङ्गलादेशबाट ३५ जना पर्यटक नेपाल प्रवेश गरेको  अध्यागमन कार्यत्रलय काँकडभिट्टा कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिएका छन् । 

 अघिल्ला दुई महिना भन्दा असोज महिनामा अलि बढि पर्यटक नेपाल आएका छन् । असोज महिनामा ६०५ जना पर्यटक यो नाकाबाट नेपाल प्रवेश गरेका हुन् । यस्तै चालु आर्थिक वर्षको साउनमा २८१ जना र भदौ महिनामा २२० विदेशी पर्यटक पूर्वीनाकाबाट नेपाल भित्रिएको कार्यलयको तथ्यांकमा उल्लेख छ । 

 भुटान, अमेरिका, अस्ट्रेलिया, बेलायत, बङ्गलादेशलगायत ५३ देशका पर्यटक यस अवधिमा नेपाल भित्रिएको कार्यालयका प्रमुख तुलसी भट्टराईले जानकारी दिए । तीन महिनाको पर्यटक आगमन विश्लेषण गर्दा दैनिक सरदर १२ जना विदेशी पर्यटक काँकडभिट्टा नाकाबाट भित्रिने गरेका छन् ।

पर्यटक आगमनको मौसम सुरु भएकाले असोज महिनामा दैनिक सरदर १९ जना विदेशी पर्यटक यस नाकाबाट भित्रिएको पाइएको छ । यो नाकाबाट  असोजदेखि फागुन महिनासम्म विदेशी पर्यटकको आगमन धेरै हुने गरेको उनको भनाई  छ ।

यस नाकाको अध्यागमन कार्यालयबाट पर्यटकका लागि भिसासमेत जारी हुने गरेको छ । चालु आवको तीन महिनामा ९९२ जनाको पर्यटक भिसा, ७५ जनाको नाता भिसा, आठ जनाको वैवाहिक भिसा, १३ जनाको गैरआवासीय भिसा र आठ जनाको सार्क इन्डोर्समेन्ट भिसा जारी गरिएको उनले बताए ।

पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा ९८५ जना विदेशी नागरिक भारत गएका छन् । जसमा साउनमा ३१८ जना, भदौमा २३० जना र असोजमा ४३७ जना विदेशी नागरिक अध्यागमन प्रक्रिया पूरा गरेर भारततर्फ गएका छन् ।