सुनसरी । हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत बास्केटबल प्रतियोगितामा धरान उच्च माध्यमिक विद्यालयले छात्र र छात्रा दुवैतर्फ उपाधि जितेको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत फाइनल खेलमा छात्रातर्फ धरान उच्चले धरान आदर्श स्कुललाई ४५–०५ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

खेलको सुरूदेखि नै आक्रामक देखिएको धरान उच्चले प्रतिद्वन्द्वीलाई खेलमा फर्कन कुनै अवसर दिएन ।

मंगलबार नै सम्पन्न छात्रतर्फको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । धरान उच्चले सियोन स्कूललाई ३१–३० को झिनो अन्तरले पराजित गर्दै रोमाञ्चक जित निकाल्यो । अन्तिम सेकेन्डसम्म नतिजा अनिश्चित बनेको खेलमा धरान उच्चका खेलाडीहरूले धैर्य र टिमवर्क प्रदर्शन गर्दै उपाधि सुनिश्चित गरे ।

माघ २५ गतेदेखि चलेको प्रतियोगितामा हिसान सुनसरीअन्तर्गतका एक दर्जन विद्यालयको सहभागिता रहेको थियो ।

हिसान स्पोर्ट्स मिटले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुर्‍याएको आयोजकको भनाइ छ ।