सुनसरी । सहकर्मी इन्जिनियर महिलालाई कार्यकक्षमै कुटपिट गरी फरार रहेका इटहरी उपमहानगरपालिकाका इन्जिनियर भवेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

इटहरी उपमहानगरपालिका वडा ९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीलाई कुटपिट गरी फरार रहेका योजना शाखाका इन्जिनियर भवेन्द्र चौधरीलाई इटहरीको पेरिस गल्लिबाट पक्राउ गरिएको हो । 

कुटपिटको घटना पछि इन्जिनियर अधिकारीले इन्जिनियर चौधरीका विरुद्ध उजुरी दिएपछि उनी फरार भएका थिए । इन्जिनियर चौधरी आफन्तकोमा लुकिछिपी बस्दै आएको अवस्थामा आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । 

घटना गत भदौ २५ गतेको हो । आर्थिक विषयमा इन्जिनियर चौधरीले आफ्नो नाम जोडेपछि इन्जिनियर अधिकारीले विरोध जनाएकी थिइन् । सोही विषयमा विवाद हुँदा कार्यकक्षमा काम गर्दै गरेकी  अधिकारीमाथि चौधरीले कुटपिट गरेको आरोप छ। घटनापछि अधिकारीले भदौ २७ गते इलाका प्रहरी कार्यालयमा प्रमाणसहित किटानी जाहेरी दिएकी थिइन्।

जाहेरीका आधारमा असोज ५ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर घटना भए लगत्तै चौधरी फरार रहेका थिए । लामो समयसम्म  फरार रहेका चौधरीलाई लुकिछिपी बसिरहेको अवस्थामा इटहरीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । 

पक्राउ परेका इन्जिनियर चौधरीका विरुद्ध अभद्र व्यवहार मुद्धामा अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक हमालले जानकारी दिएका छन् ।