सुनसरी । हिमशिखर इङलिस स्कुलले तेस्रो संस्करणको केआइइसी सेभेन ए साइड फुटसल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी संम्योग राईलाई छात्रवृत्ति प्रदान गरेको छ ।
यसअघि आयोजक अल स्पोर्टस कलेक्सनले राईलाई २५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिसकेको थियो ।
आयोजकले २५ हजार छात्रवृत्ति दिएको र बाँकी सबै खर्च विद्यालयले बेहोर्ने गरी छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रमुख शैलेस पुरीले जानकारी दिए । इटहरीमा मङ्गलवार सम्पन्न फाइनल खेलमा हिमशिखरले खनार सनसाइन सेकेण्डरी स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । हिमशिखरको यो लगातार तेस्रो उपाधि हो ।
पहिलो, दोस्रो र तेस्रो संस्करणको फाइनलमा लगातार च्याम्पियन बनेसँगै हिमशिखरले उपाधि माथि ह्याट्रिक गरेको थियो । उपाधिसँगै हिमशिखरले नगद ४० हजार रुपैयाँ र आकर्षक शिल्ड पाउँदा उपविजेता सनसाइनले २० हजार रुपैयाँ पाएको थियो ।
उक्त प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमशिखरका संम्योग राई घोषित भएका थिए ।
उनलाई आयोजकको तर्फबाट नगद २५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरेको र बाँकी छात्रवृत्ति विद्यालयले प्रदान गर्ने सहमति भएको आयोजक अल र्स्पोट कलेक्सनका प्रमुख विमल मगरले बताए ।
सर्वोत्कृष्ट खेलाडी घोषित भएका राई कक्षा ९ मा अध्ययनरत छात्र हुन ।