विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले एम. एससी बायोस्टाटिक्टिक्सको पढाइ सुरु गर्ने भएको छ । यो कार्यक्रम नेपालमै पहिलो भएको चिकित्सा शास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेलले जानकारी दिनुभयो ।
एम. एससी बायोस्टाटिक्टिक्सको पढाइ सुरु गर्ने तयारी स्वरूप विश्वविद्यालयको चिकित्सा शास्त्र सङ्कायले बुधवार विराटनगरमा एम. एससी बायोस्टाटिक्टिक्सको पाठ्यक्रम सम्बन्धी अन्तरक्रिया गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै विश्वविद्यालयकी रजिस्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाको अध्ययन गरेर पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । विश्व स्तरीय पाठ्यक्रम निर्माणमा जोड दिँदै रजिस्ट्रार त्रिपाठीले कार्यक्रममा उपस्थित विज्ञहरूलाई धन्यवाद दिनुभयो । डीन डा. शैलेषमणि पोखरेलले विश्वविद्यालयको आवश्यकता र श्रम बजारको अध्ययन गरेर पाठ्यक्रमको अन्तिम तयारी गरेको जानकारी दिनुभयो । स्वदेशी र विदेशी विश्वविद्यालयका विज्ञहरूका साथै विद्यार्थी र सरोकारवालाहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।
एम. एससी बायोस्टाटिक्टिक्सको नयाँ पाठ्यक्रमका विषयमा उपप्राध्यापक नवीन लामिछाने, सहप्राध्यापक धरणीधर बराल, स्कुल अफ हेल्थ साइन्सेजकी निर्देशक दीप्ति सुब्बा, सह–डीन डा. श्याम कुमार मल्लिकले प्रस्तुतीकरण गर्नुभएको थियो । सान डियगो स्टेट विश्वविद्यालयका प्राध्यापक डा. नवीन वैद्य, ओहायो विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर डा. प्रमेश सुवेदी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का निवर्तमान अध्यक्ष प्रा. डा. गेहनाथ बराल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य डा. लिली राजवंशी, काठमाण्डौं विश्वविद्यालयका जनस्वास्थ्य विभाग प्रमुख प्रा.डा. अर्चना श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रीय विभागका प्रमुख प्रा. डा. आमोद पौड्याल, वी. पीं कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झाले पाठ्यक्रमका विषयमा टिप्पणी गर्नुका साथै महत्त्वपूर्ण सुझावहरू दिनुभएको थियो ।
विषय समितिको तर्फबाट डा. कादिर आलम, प्रा. डा. अनुप घिमिरे, कमला पराजुली, प्रा. डा. मेदिनी प्रसाद शर्मा, प्रा. डा. मीनराज ढकाल, डा. कोमल प्रसाद दुलाल, डा. उत्तम कुमार रेग्मी, विश्वविद्यालय अनुदान आयोगका सदस्य प्रा.डा. शिव कुमार राई, त्रिभुवन विश्वविद्यालय नर्सिङ क्याम्पस प्रमुख मेनुका भण्डारी लगायतले प्रस्तावित एम. एससी बायोस्टाटिक्टिक्सको पाठ्यक्रमका विषयमा टिप्पणी गर्नुभएको थियो । प्रस्तावित एम. एससी बायोस्टाटिक्टिक्सका विषयमा नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र मनमोहन प्राविधिक विश्वविद्यालयका प्राध्यापकहरूले समेत टिप्पणी गर्दै सुझाव दिनुभयो । कार्यक्रममा प्राप्त भएका सुझावहरूलाई समेटेर अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम तयार गरी एम. एससी बायोस्टाटिक्टिक्स कार्यक्रम सञ्चालन गर्ने डीन डा. शैलेशमणी पोखरेलले जानकारी दिनुभयो ।