सुनसरी । धरान उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगमा रोक लगाउने भएको छ । उपमहानगरले आज एक सूचना जारी गर्दै सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा भण्डारमा रोक लगाउने जनाएको हो ।

उपमहानगरका अनुसार पौष २९ गतेको कार्यपालिका बैठकबाट सार्वजनिक स्थानहरूमा चुरोट, बिडी, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने जस्ता सुर्तीजन्य वस्तु भण्डार, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय भएको थियो । 

सोही निर्णयबमोजिम सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन पछिदेखि लागु हुने गरी धरान नगरक्षेत्रका सार्वजनिक स्थलहरूमा धूम्रपान तथा सुर्तीजन्य वस्तुहरूमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको महानगरले जनाएको छ ।  

कसैले यसको अवज्ञा गरी बिक्री वितरण तथा भण्डार गरेको पाइएमा नगर प्रहरी मार्फत जफत गर्ने र कानुन बमोजिम जरिवाना पनि गरिने धरान उपमहानगरका प्रमुख हर्कराज राईद्वारा जारी सूचनामा उल्लेख छ ।