सुनसरी । उच्च अदालत विराटनगरले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न/ नगराउन आदेश जारी गरे लगत्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लागेको ताला खुलेको छ ।
उपकुलपतिको कार्यकक्षमा धरान उपमहानगरका नगरप्रमुख हर्क साम्पाङले तालाबन्दी गरेपछि परेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले कारण देखाऊ सहित आदेश जारी गरेपछि शुक्रवार दिउसो ताला खुलेको हो ।
यसअघि उपकुलपति कार्यालयमा ताला लगाउन आफै पुगेका साम्पाङ खोल्न भने गएनन् । अदालतको आदेशपछि उनले ताला खोल्न सचिवालयका कर्मचारी सुदर्शन लिम्बुलाई पठाएका थिए ।
रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका नगरप्रमुख साम्पाङ सहित ९ विपक्षीको नाममा उच्चले अन्तरिम आदेश सहित कारण देखाऊ आदेश जारी गरेको हो । सञ्जीवकुमार साहद्वारा उत्प्रेषणयुक्त परमादेश माग गर्दै दायर रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी समेत ९ विपक्षी विरुद्ध उच्च अदालतकी न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।