काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान उन्मुख भएको छ । मुख्यसचिव र प्रतिष्ठानका पदाधिकारीबीच सिंहदरबारमा आज भएको छलफल सकारात्मक बनेको हो ।

मुख्यसचिव वैकुण्ठ अर्यालसँग भएको छलफलमा भोलि (शुक्रबार) कार्यकारिणी समितिको बैठक बसेर आन्तरिक बढुवाका लागि अन्तर्वार्ताको मिति तोक्ने निर्णय भएको प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद संग्रौलाले जानकारी दिए । त्यसका लागि पदाधिकारीहरु आजै धरान जाँदै छन् । त्यसअघि आजै स्वास्थ्यमन्त्रीसँग सिनेट बैठकबारे छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनअनुसार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्कीलगायत पदाधिकारीसँग हिजो मन्त्रालयमा छलफल गरेका थिए । तर कुनै निर्णय भएको थिएन । प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी वृत्तिविकासको मागसहित आन्दोलनमा उत्रिएपछि पाँच दिनदेखि बहिरंग सेवा ठप्प छ । बिरामीले सास्ती खेप्दै आएका छन् ।