लक्ष्मी उप्रेती
झापा- झापाको मेचीनगरमा डेंगुका बिरामीको चाप बढेपछि निजी अस्पताल तथा क्लिनिकहरूले परीक्षणको नाममा मनपरी शुल्क लिने गरेको पाइएको छ।  डेंगुको प्रकोप व्यापक बन्दै जाँदा परीक्षणका नाममा यहाँका प्रयोगशालाहरूले मनपरी शुल्क लिने गरेको फेला परेको हो ।  र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा निजी अस्पताल, क्लिनिकले मनपरी शुल्क लिँदै आएका छन् ।  सर्वसाधारण डेंगु परीक्षणको नाममा ठगिनु परिरहेको छ ।
 
डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरूले जथाभाबी शुल्क लिने गरेको गुनासो आएपछि मेचीनगर नगरपालिकाको नगर स्तरीय अनुगमन टोलीले छड्के अनुगमन गर्दा यस्तो रहस्य बाहिर आएको नगरपालिकाले जनाएको छ । डेंगु महामारी फैलिएको समयमा जनताले राहत पाउने गरी अनुगमनलाई तीव्रता दिइएको थियो । 
जनस्वास्थ्य निरीक्षक  रामप्रसाद अधिकारीका अनुसार कोशी प्रदेश प्रयोगशालाले डेंगुको परीक्षणका लागि ६ सय रुपैयाँ कायम गरेको भए पनि नगरका प्रयोगशालाहरूले जथाभाबी रकम लिने गरेका प्रमाण फेला परेको छ । टोलीले नगरको मुख्य: व्यापारिक केन्द्रबिन्दु धुलाबारी बजारका १० वटा पोलिक्लिनिक तथा निजी अस्पतालसहित औषधि पसलको अनुगमन गर्दा अधिकांशले प्रदेश प्रयोगशालाले तोकेको शुल्क भन्दा २ देखि ४ सय रुपैयाँसम्म बढी रकम असुलेको पाइएको अधिकारीले बताए ।
‘सरकारी स्वास्थ्य केन्द्रमा डेंगुको परीक्षण निःशुल्क भए पनि अत्यधिक चापले गर्दा बिरामीहरू बाहिर निजी क्लिनिक तथा ल्याबतिर परीक्षण गर्न बाध्य छन् । त्यसैको फाइदा उठाएर निजी क्लिनिकहरूले मनपरी शुल्क असुल गरिरहेका छन्’ उनले भने, ‘कोशी प्रदेश प्रयोगशालाले डेंगुको परीक्षणका लागि ६ सय रुपैयाँ कायम गरेको छ ।’
धुलाबारीमा सञ्चालनमा रहेका प्रयोगशालाहरूले  एक हजार रुपैयाँसम्म लिने गरेको फेला परेको उनले बताए । 
विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूले डेंगुको किटबाट परीक्षण गर्दा अधिकतम ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरूको बैठकले डेंगुको परीक्षण शुल्क तोकेको थियो । मेचीनगरका प्रयोगशालाहरूलाई एकटकलाई सचेत गराइएको अनुगमन टोली सदस्य एवम् मेचीनगर स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले बताइन् ।

मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) कोशी प्रदेश उपाध्यक्ष सोम ओझाले यसको मूल्य तोक्ने आधिकारिक निकाय नभएको बताए ।  ‘पछिल्लो समय सरकारले डेंगु परीक्षण गर्दा ६ सय रुपैयाँभन्दा बढी नलिनु भन्यो’ उनले भने, ‘अन्य रगत परीक्षण गर्दा आ आफ्नै दररेट छन् ।’  यो समस्या मेचीनगरको मात्र नभई  कोशी प्रदेशका ग्रामीण क्षेत्र तथा सहरी क्लिनिकहरूको समेत रहेको नागरिकको बुझाई छ ।