विराटनगर । छैटौँ अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस तथा अन्तर्राष्ट्रिय बहिरा सप्ताह–२०२३ को अवसरमा विराटनगरमा जनचेतनामूलक र्‍याली निकालिएको छ । 
विराटनगरको महेन्द्र चोकबाट शनिवार जनचेतनामूलक र्‍याली निकालिएको थियो । राष्ट्रिय बहिरा महासङ्घ नेपाल कोशी प्रदेश समिति, कोशी बहिरा सङ्घ मोरङको आयोजना तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाको सहयोगमा र्‍याली निकालिएको हो । 
र्‍यालीको विराटनगर महानगरपालिकाका कार्यवाहक मेयर शिल्पा निराला कार्कीले शुभारम्भ  गरेकी थिइन् । कार्यक्रममा बोल्दै कार्यवाहक मेयर कार्कीले साङ्केतिक भाषाको प्रयोगमा जोड दिइन् ।  पछिल्लो समय बोल्ने र नबोल्ने सबैले साङ्केतिक भाषा सिक्नुपर्ने आवश्यकता रहेको उनले औँल्याइन ।  उपप्रमुख कार्कीले साङ्केतिक भाषा शब्दावलीमा आवश्यकताअनुसारको नयाँ शब्दहरू थप्दै लैजानुपर्ने बताइन् । bhasha (1)

सो अवसरमा बोल्दै राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेश अध्यक्ष सीताराम ओझाले विश्वभरि असोज १ गतेदेखि साङ्केतिक भाषा दिवस साता व्यापीरुपमा मनाउने प्रचलन रहे पनि आर्थिक अवस्थाकै कारण नेपालमा त्यो सम्भव नभइरहेको गुनासो गरे ।  जनचेतनामूलक र्‍याली जलजला मोड हुँदै विराटनगरका विभिन्न भागको परिक्रमा गरेर ट्राफिक चोकमा पुगेर समापन भएको थियो ।